Butwal Today

सात वर्षपछि भारतमा चिनियाँ राष्ट्रपति सी, मोदीसँग

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

नयाँ दिल्ली । करिब सात वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत पुगेका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार नयाँ दिल्ली पुगेका सीको भारत भ्रमणलाई भारत–चीन सम्बन्धमा देखिएको क्रमिक सुधारका बीच महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।सी सन् २०१९ को अक्टोबरमा भारतको मामल्लापुरम पुगेपछि पहिलोपटक भारत आएका हुन्। त्यसको केही महिनापछि सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपपछि दुई देशबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएको थियो। उक्त घटनामा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो।

गलवान घटनापछि सीमा तनावसँगै भारत–चीनबीचको व्यापार, लगानी, भिसा तथा प्रत्यक्ष हवाई सम्पर्कलगायतका क्षेत्रमा समेत असर परेको थियो। पछिल्ला वर्षमा भने दुवै देशले सीमा क्षेत्रमा तनाव कम गर्ने, कूटनीतिक संवाद बढाउने तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई क्रमशः सहज बनाउने प्रयास गर्दै आएका छन्। यही पृष्ठभूमिमा सीको भारत भ्रमणलाई सम्बन्ध सुधारतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। ब्रिक्स सम्मेलनका क्रममा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता हुने तय भएको छ। तीन वर्षयता हुन लागेको दुई नेताबीचको तेस्रो भेटवार्तालाई समेत निकै महत्त्वका साथ हेरिएको छ। भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन र रणनीतिक दृष्टिकोणबाट अघि बढाउने, सीमा विवाद व्यवस्थापन गर्ने तथा व्यापार र आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

पछिल्लो समय सीमा क्षेत्रमा सैनिक दूरी घटाउने प्रक्रिया अघि बढ्नुका साथै प्रत्यक्ष उडान, व्यापार र आवतजावतमा समेत क्रमिक सुधार देखिएको छ। भारतले सन् २०२६ को ब्रिक्स अध्यक्षता गरिरहेको छ। १८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा आयोजना हुँदैछ। सम्मेलनमा ब्रिक्सका सदस्य तथा साझेदार देशका नेताहरू सहभागी भइरहेका छन्। विश्वव्यापी व्यापार, आर्थिक सहकार्य, ऊर्जा तथा खाद्य सुरक्षा र बहुपक्षीय व्यवस्थाजस्ता विषयमा छलफल हुने महत्वपूर्ण मञ्चका रूपमा ब्रिक्सको भूमिका बढिरहेका बेला सीको भारत भ्रमणले सम्मेलनको राजनीतिक महत्त्वसमेत थप बढाएको छ।

यद्यपि सीको भारत भ्रमण र मोदीसँगको भेटवार्ताले मात्रै दुई देशबीचका सबै जटिलता तत्काल समाधान हुने अवस्था छैन। सीमा विवाद, व्यापार असन्तुलन, लगानी तथा रणनीतिक अविश्वासजस्ता विषय अझै चुनौतीका रूपमा कायम छन्। त्यसैले पछिल्लो निकटतालाई दीर्घकालीन सम्बन्ध सुधारको सुरुआती चरणका रूपमा हेरिएको छ। सात वर्षपछि सी भारत पुग्नु, मोदीसँग उच्चस्तरीय भेटवार्ता हुनु र प्रत्यक्ष हवाई सम्पर्क पुनः सुरु हुने प्रक्रियाले एसियाका दुई ठूला शक्तिबीच चिसिएको सम्बन्ध विस्तारै संवाद र सहकार्यतर्फ फर्किन थालेको संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?