© 2026
नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थानमा सम्पूर्ण शक्ति एकजुट भएर लाग्नुपर्ने बताएका छन । बाढीले पुर्याएको क्षतिको धादिङको गल्छीदेखि नुवाकोटको विदुर नगरपालिका–१० भैँसेसम्मको स्थलगत अवलोकनपछि विदुरमा आज आयोजित सर्वपक्षीय छलफलमा संयोजक दाहालले यसलाई ‘हिमालय विपत्ति’ को सङ्ज्ञा दिँदै पुनरुत्थानका लागि एकजुट भएर लाग्नुपर्ने बताए ।
आपतकालीन समयमा योजनाबद्ध रूपमा काम गर्नसक्ने अवस्था नहुँदा पनि बाढीले पुर्याएको क्षतिपछि खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालनमार्फत प्रभावित बासिन्दालाई दिएको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका लागि अब पुनर्वासको कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए । “बाढीले ठूलोमात्रामा मानवीय र भौतिक पूर्वाधारमा क्षति पुर्याएको रहेछ”, संयोजक दाहालले भन्नुभयो, “क्षति पुगेका सडक, पुल, विद्यालयसहितका सामुदायिक तथा सरकारी सेवा जतिसक्दो चाँडो सञ्चालन गराई प्रभावित बासिन्दाको दैनिकी सहज बनाउन जोड दिनुपर्छ ।”
बाढीबाट प्रभावित बासिन्दाले आश्रय लिइरहेको ‘होल्डिङ सेन्टर’को समेत अनुगमन गरेका उनले त्यसको विकल्पमा जतिसक्दो चाँडो अस्थायी आवास निर्माणमा जुट्न स्थानीय तहलाई आग्रह गरे । बाढी प्रभावितलाई सरकारको सहयोगमा स्थायी आवास निर्माणमा सहभागी गराउनुपर्ने भए पनि त्यसका लागि तत्कालै समाधानको उपाय निस्कनसक्ने अवस्था नरहेकाले स्थानीय सरकारको अगुवाइमा बाढी प्रभावितका लागि अस्थायी आवास निर्माण गरी होल्डिङ सेन्टरको बसाइ छोट्याउने वातावरण बनाउन उनले सुझाव दिए । बाढीबाट प्रभावित क्षेत्रमा सहयोग पुर्याउन आफ्नो पार्टी पङ्क्ति पहिलो दिनदेखि नै सक्रिय भएर लागिरहेको बताउँदै उहाँले अस्थायी आवास निर्माणमा भ्रातृसंस्थामार्फत सहयोग पुर्याउन आवश्यक जनशक्ति परिचालन गरिसकेको जानकारी दिए ।
योङ कम्युनिष्ट लिग वाइसिएल मार्फत तत्कालै १५० परिवारका लागि अस्थायी आवास बनाउन लागिएको जानकारी दिँदै नेकपाका संयोजक दाहालले अन्य दल तथा सङ्घसंस्थाले पनि आफ्नोतर्फबाट सक्रियता देखाउन आग्रह गरे । भोटेकोशीमा आएको बाढी असामान्य घटना भएकाले यसलाई बाढी नभई हिम पग्लेर बगेको ‘हिमालय विपत्ति’ का रूपमा पहिचान दिनुपर्ने उनले धारणा राखे । “च्छो रोल्पामा हुन लागेको विष्फोटपछिको जोखिम रोक्न गरिएका प्रयासको अनुभव लिएर आगामी दिनमा थप अरू दुर्घटना हुन नदिन सम्पूर्ण शक्ति एकजुट हुनुपर्छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “विदेशीसँग भएका समझदारीबाट हामीले आवाज उठाउने मात्र होइन, न्याय खोज्नुपर्छ ।”
जलवायु परिवर्तनको असरले आगामी दिनमा पनि जोखिमको अवस्था कायम रहने भएकाले अहिले नदीको जलसतह आइपुगेको स्थानसम्म बस्ती बसाल्न नहुने उनको भनाइ छ । बाढीले प्रभाव पारेको स्थानसम्मको जग्गा खोला कायम गरेर उक्त जग्गा गुमाउने प्रभावित बासिन्दालाई सट्टामा अर्को व्यवस्था मिलाउने गरी दीर्घकालीन नयाँ नीति आवश्यक रहेको उनले जोड दिए।
“विगतमा गोरखा भूकम्पपछि सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर नयाँ संविधान जारी गर्दै एकताको सन्देश दिएका थियौँ । यस विपत्तिमा पनि सम्पूर्ण शक्ति एकजुट भई सङ्कटको घडीमा नेपाली एकताबद्ध हुने गरेको सन्देश दिन आवश्यक छ”, उनले भने, “एकताबद्ध भएर समन्वयका साथ अघि बढ्न सक्यौँ भने यो सङ्कटको समाधान गर्न सक्छौँ ।”बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टर सञ्चालनको अवस्थाको अनुगमनको साथै उनले बाढी प्रभावित विभिन्न स्थानका बासिन्दासँग अन्तरक्रिया गरेका थिए।