Butwal Today

बँदेल धपाउन राखिएको विद्युतीय पासोमा परेर महिलाको मृत्यु

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा बँदेल धपाउन राखिएको विद्युतीय पासोमा परेर एक महिलाको मृत्यु भएको छ ।

मदाने गाउँपालिका–४, बावनपानीकी ४८ वर्षीया डाकुमारी खत्रीको मकैबारीमा बँदेल धपाउन राखिएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार भदौ २२ गते अपराह्न आफन्तको घर ओख्लेदह जाने भन्दै घरबाट हिँडेकी खत्री अचानक सम्पर्कविहीन भएकी थिइन् । उनी सम्पर्कविहीन भएपछि श्रीमान् दीपबहादुर खत्रीले भदौ २४ गते इलाका प्रहरी कार्यालय पुर्कोटदहमा खोजतलासका लागि निवेदन दिएका थिए ।

खोजतलासका क्रममा शुक्रबार दिउँसो मदाने गाउँपालिका–१, ठूलाचौरस्थित कोदोबारीमा खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

अनुसन्धानका क्रममा मदाने गाउँपालिका–१, ओख्लेदह निवासी ३० वर्षीय सन्तबहादुर विष्टले मकैबारीमा बँदेल धपाउन खुला तारमा विद्युत् प्रवाह गराएको र सोही तारमा करेन्ट लागेर खत्रीको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले विष्टलाई नियन्त्रणमा लिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलको मुचुल्का तयार गरेपछि मृतक खत्रीको शव परीक्षणका लागि शनिबार बिहान गुल्मी अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?