Butwal Today

सल्यानमा बोलेरो जिप ९० मिटर तल खस्यो, चालकसहित ६ जना घाइते

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

सल्यान । सल्यानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका–५ सिम्कमा सिंखबाट गाउँपालिकाको केन्द्र लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप बिहान करिब ८ बजे अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले दुर्घटनामा घाइते भएका चालकसहित ६ जनाको उद्धार गरी उपचारका लागि लुहाम पठाएको थियो ।

लुहाममा प्राथमिक उपचारपछि केही गम्भीर घाइतेलाई थप उपचारका लागि दाङतर्फ रिफर गरिएको बताइएको छ । घाइतेहरूको नाम, ठेगाना र अवस्थाबारे विस्तृत विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

दुर्घटनामा परेको बोलेरो जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?