Butwal Today

आज विश्व प्राथमिक उपचार दिवस

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ ।

विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गएको छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना र अवसरको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।

यस अवसरमा नेपाल रेडक्रस सोसाइटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा बसाइँसराइको यात्रा सहज नहुने र यस क्रममा विभिन्न बाधा–व्यवधानको सामना गर्नुपर्ने उल्लेख गरेको छ । अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपायको अभाव, आधारभूत स्वास्थ्य सेवामा पहुँचको अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा तथा संस्कृतिसम्बन्धी अपरिचित अवस्था, भौगोलिक अवस्थाको जानकारीको अभाव र प्राथमिक उपचारसम्बन्धी प्रशिक्षणको कमीका कारण बसाइँसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दबाब, स्वास्थ्य अवस्थामा गिरावट तथा मानसिक तनावजस्ता समस्या देखिन सक्ने रेडक्रसले जनाएको छ ।

त्यसैगरी, बसाइँसराइ गर्ने व्यक्तिहरू डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने जोखिम, असुरक्षित काम गर्नुपर्ने अवस्था तथा मनोवैज्ञानिक पीडाजस्ता जोखिममा पर्न सक्छन् । बसाइँसराइका विभिन्न चरणमा शारीरिक तथा मनोवैज्ञानिक दुर्व्यवहार र बारम्बार हुने हिंसाजस्ता घटनाको समेत सामना गर्नुपर्ने हुन सक्छ ।

यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार गर्न, स्वास्थ्य अवस्था थप बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचार सेवाको आवश्यकता निरन्तर बढिरहेको छ । हालै आएको भोटेकोशी बाढीका समयमा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा प्रतिकार्यका अन्य गतिविधिमार्फत मानवीय सेवा प्रदान गरी प्राथमिक उपचारको महत्वलाई थप पुष्टि गरेका छन् ।”

नेपाल रेडक्रसले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था, कूटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचारसम्बन्धी प्रवर्द्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्‍याउने उद्देश्यले संस्था निरन्तर प्रयासरत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस अवसरमा नेपाल रेडक्रस सोसाइटीले ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “जीवन रक्षा अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?