© 2026
सल्यान । सल्यानको शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा उद्यम तर्फ अग्रसर बनेकी छिन् ।
धेरैजसो समय जनप्रतिनिधिको जिम्मेवारीमा बिताउने उनी बाँकी समय स्थानीय कृषि उपज, अन्न र जडीबुटीलाई प्रशोधन गरेर बजारयोग्य अर्ग्यानिक उत्पादन बनाउनमा लगाइरहेकी छिन् ।
उनले राजनीति र जनप्रतिनिधिको जिम्मेवारीसँगै आफ्नै उद्यममार्फत आत्मनिर्भर बन्ने प्रयासमा श्रीनगर बजारमा सल्यानी अर्ग्यानिक परिकार उद्योग सञ्चालनमा ल्याएकी हुन् । उद्योगमा सल्यानमै उत्पादन हुने कृषि उपज र जडीबुटीलाई विभिन्न तरिकाले प्रशोधन गरी नयाँ परिकार तयार गरिन्छ ।
कुखुरा, खसी, आँप, कटहर, हलेदो, अदुवा र टिमुरबाट अचार बनाउनेदेखि २८ प्रकारका अन्न, गेडागुडी तथा सुख्खा फलफूल मिसाएर तयार गरिने पोषिलो मल्टिग्रेन सातु र विभिन्न जडीबुटी मिसाएर बनाइने सुत्केरी मसालासम्म उद्योगका उत्पादन हुन् ।
उद्योग सञ्चालनमा आएको करिब एक महिना मात्रै भए पनि उत्पादन मध्ये मल्टिग्रेन सातुको माग बढी रहेको सापकोटा बताउँछिन् । स्थानीयस्तरमा पाइने अन्न तथा खाद्य सामग्रीलाई मिश्रण गरेर तयार गरिने सातुलाई उद्योगको महत्त्वपूर्ण उत्पादनका रूपमा अघि बढाइएको छ । त्यस्तै स्थानीय मसला तथा जडीबुटीको प्रयोगबाट तयार हुने सुत्केरी मसला पनि उद्योगको अर्को विशेष उत्पादन हो ।
जिल्लामा उत्पादन हुने कृषि उपजलाई कच्चा पदार्थकै रूपमा बिक्री गरिरहनु भन्दा त्यसलाई प्रशोधन, मिश्रण, प्याकेजिङ र बजारीकरण गरेर मूल्य अभिवृद्धि गर्ने उपमेयर सापकोटाको सोच हो ।
स्थानीय उत्पादनबाटै नयाँ परिकार तयार गर्न सके किसानको उत्पादनले बजार पाउने, उपभोक्ताले स्थानीय वस्तुमा आधारित उत्पादन पाउने र जिल्लाभित्रै आर्थिक गतिविधि बढाउन सकिने उनको विश्वास छ । “सल्यानमा उत्पादन हुने धेरै वस्तु हामी कच्चा रूपमा नै बिक्री गर्छौँ । त्यसलाई यहीँ प्रशोधन गरेर मूल्य बढाउन सकिन्छ भन्ने सोचले उद्योग सुरु गरेकी हुँ,” सापकोटाले भनिन् । उद्योगमा हालसम्म करिब चार लाख रुपैयाँ लगानी भएको छ ।
सानो लगानीबाट सुरु गरिएको यो उद्यममा अहिलेसम्म कुनै सरकारी वा अन्य निकायबाट अनुदान नलिएको उनी बताउँछिन् । बजारको माग र उत्पादनको सम्भावना हेरेर क्रमशः लगानी थप्दै उद्योगलाई विस्तार गर्ने योजना रहेको छ ।
उद्योगका उत्पादनको गुणस्तर परीक्षण समेत भइसकेको छ । अहिले उत्पादनको बजार सल्यान जिल्लाभित्रै सीमित छ । अब ब्रान्डिङ र लेबलिङको काम पूरा गरेर उत्पादनलाई जिल्ला बाहिरका बजारसम्म पु¥याउने उद्योगको तयारी छ । “अहिले हामीले उत्पादन र बजार दुवैको परीक्षण गरिरहेका छौँ । गुणस्तर परीक्षण भइसकेको छ । ब्रान्डिङ र लेबलिङको काम सकेपछि बजार विस्तार गर्ने योजना छ,” उपमेयर सापकोटाले भनिन् ।
उद्योगलाई थप व्यवस्थित बनाउन अर्ग्यानिक पिठो उत्पादनका लागि विद्युतीय घट्ट ल्याउने तयारी भइरहेको छ । अहिले विभिन्न अन्नमा आधारित उत्पादन गरिरहेकाले आफ्नै उद्योगबाट पिठो उत्पादन गर्न सके उत्पादन प्रक्रिया थप व्यवस्थित हुने अपेक्षा छ । उत्पादित सामग्रीको भण्डारणका लागि सानो कोल्ड स्टोर निर्माण गर्ने योजना पनि अघि बढाइएको छ ।
उद्योग सुरु गरेपछि उपभोक्ता तथा अन्य व्यक्तिबाट प्रत्यक्ष रूपमा र सामाजिक सञ्जाल मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको सापकोटाले बताइन । उत्पादन प्रतिको चासो र मागले नयाँ परिकार थप्न तथा बजार विस्तार गर्न उत्साह मिलेको उनको भनाइ छ । आगामी दिनमा बजारको माग अनुसार थप उत्पादन तयार गर्ने योजना छ ।
उद्योग सञ्चालनका लागि आवश्यक सीप विकासमा पनि ध्यान दिइएको छ । आफूले परिकार उत्पादन सम्बन्धी तालिम लिएको र उद्योगमा संलग्न अन्य व्यक्तिहरू पनि तालिमप्राप्त रहेको सापकोटा बताउँछिन् ।
राजनीति गर्ने व्यक्तिले राजनीतिलाई मात्रै पेसा बनाउने भन्दा आफ्नो पेसा, व्यवसाय वा उद्यमलाई निरन्तरता दिँदै समाजमा योगदान गर्न सक्नुपर्ने उनको छ । उनले अघि भनिन्, “राजनीति मात्रै गरेर बस्नु भन्दा आफ्नो पेसा वा व्यवसाय पनि हुनुपर्छ ।
त्यसले आत्मनिर्भर बन्न सहयोग गर्छ । जनप्रतिनिधिको भूमिकासँगै उद्यम गर्न सकिन्छ भन्ने उदाहरण पनि दिन सकिन्छ भन्ने लागेर यो काम सुरु गरेकी हुँ ।” जनप्रतिनिधिका रूपमा नीति, योजना र विकासका विषयमा काम गरिरहेकी सापकोटाको उद्यमी यात्राले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अर्को सम्भावना देखाएको छ ।
बाहिरबाट सामान ल्याएर बिक्री गर्नेभन्दा आफ्नै जिल्लामा उत्पादन हुने वस्तुको प्रशोधन गरेर नयाँ उत्पादनका रूपमा बजारमा पठाउने अभ्यास विस्तार हुन सके स्थानीय कृषि उत्पादनको मूल्य बढ्नुका साथै उद्यम र रोजगारीका अवसर समेत सिर्जना हुन सक्ने देखिन्छ ।