© 2026
नेपालगञ्ज । भोटेकोसीमा आएको बाढीबाट प्रभावित परिवारका लागि निजी विद्यालयहरूको संगठन प्याब्सन बाँकेले करिब ६५ लाख रुपैयाँ बराबरको राहत सहयोग जुटाएको छ। प्याब्सनमा आबद्ध विभिन्न निजी तथा आवासीय विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारबाट संकलन गरेको रकम बाढीका कारण ज्यान गुमाएका, बेपत्ता तथा घाइतेसहित बाढीपीडितको सहयोगका लागि उपलब्ध गराएका हुन्।
प्याब्सन बाँकेले बिहीबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी राहत सहयोगसम्बन्धी विवरण सार्वजनिक गरेको हो। प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार जिल्लाका ७७ वटा विद्यालयले ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ प्याब्सन बाँकेलाई हस्तान्तरण गरेका छन्। केही विद्यालयले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गरेका छन्।
अध्यक्ष बज्राचार्यले प्याब्सन बाँकेमा आबद्ध सबै विद्यालयबाट संकलित कुल सहयोग रकम करिब ६५ लाख रुपैयाँ बराबर रहेको जानकारी दिए। ‘प्याब्सन केन्द्रबाट परिपत्र आउनुअघि नै केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतःस्फूर्त रूपमा रकम जम्मा गरिसक्नुभएको थियो,’ उनले भने, ‘केन्द्रबाट परिपत्र आएपछि सबै विद्यालयलाई जानकारी गरायौँ र संस्थागत रूपमा बाढीपीडितका लागि सहयोग रकम संकलन गरिएको हो।’
प्याब्सनका अनुसार संकलित रकम विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीको सहभागितामा जुटाइएको हो। विपद्का बेला मानवीय सहयोगका लागि विद्यार्थीसमेत अग्रसर भएको प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले बताए। उनका अनुसार कतिपय विद्यार्थीले आफ्नै खाजा खर्च कटाएर बाढीपीडितका लागि सहयोग गरेका छन्। ‘भोटेकोसी बाढीले ठूलो विपद् निम्त्याएको छ। यस्तो अवस्थामा सबै संवेदनशील हुनुपर्छ,’ जिसीले भने, ‘विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्च कटाएर पीडितलाई सहयोग गर्नु मानवीय संवेदनाको सुन्दर उदाहरण हो।’
पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद् व्यवस्थापन संयोजक महेन्द्र शर्माले विभिन्न विद्यालयबाट संकलित रकमको चेक जिल्ला अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरेका थिए। अध्यक्ष बज्राचार्यले उक्त चेक प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद्का सदस्य डा. राजेश केशर खनाललाई हस्तान्तरण गरे।प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद्का सदस्य डा। खनालका अनुसार बाँकेबाट प्राप्त रकम प्याब्सन केन्द्रीय समितिको खातामा जम्मा गरिनेछ। त्यसपछि देशभरका विद्यालयबाट संकलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरिएको छ।
उनले विपद्को समयमा निजी विद्यालय क्षेत्र पनि सरकार र प्रभावित नागरिकको साथमा रहेको बताए। प्याब्सन केन्द्रीय समितिले देशभरबाट १० करोड रुपैयाँ संकलन गरी सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको पदाधिकारीहरूले जानकारी दिएका छन्।भोटेकोसी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि देशभरबाट राहत तथा सहयोग जुटिरहेको छ। यही क्रममा बाँकेका निजी विद्यालयहरूले पनि विद्यालय परिवारलाई मानवीय सहयोगको अभियानमा जोड्दै बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका हुन्।
प्याब्सन बाँकेका वरिष्ठ उपाध्यक्ष शरदचन्द्र रावलले स्वागत गरेको पत्रकार सम्मेलनमा विभिन्न विद्यालयका प्रतिनिधि तथा प्याब्सनका पदाधिकारीहरूको सहभागिता थियो।