Butwal Today

एसीसी पुरुष प्रिमियर कपः ओमानलाई पराजित गर्दै नेपाल फाइनलमा

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

बर्दघाट । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।

नेपालले ओमानसामु प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा ओमान २८.१ ओभरमा सबै विकेट गुमाएर ६० रनमै समेटियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन–तीन विकेट लिए । यस्तै, ललित राजवंशी र रोहित पौडेलले समान दुई–दुई विकेट लिए ।

ओमानका लागि ओपनर ब्याटर जितेन्द्रसिंहले १५ तथा जितेन रामानन्दीले १३ रन बनाए । यी दुईबाहेक ओमानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । नेपालको इनिङ्समा दीपेन्द्रसिंह ऐरीले ५१ रनको अर्धशतकीय पारी खेले भने बसिर अहमदले ४७ रन बनाए । ऐरी र अहमदले पाँचौँ विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

ओपनर ब्याटर देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । यी दुईबाहेक अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपाललाई ठूलो स्कोर बनाउनबाट रोक्ने क्रममा ओमानका जय भीरम र हसिनैन शाहले समान तीन–तीन विकेट लिए । मोहम्मद इमरानले दुई विकेट लिए भने मुजिबुर अली र सकिल अहमदले समान एक–एक विकेट लिए ।

नेपालले फाइनलमा आगामी शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलको विजेताले एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?