© 2026
काठमाडौँ । आगामी असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमार्फत सेवा दिने भएका छन् ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख र साझेदार अधिकारीबीच सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकामा संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय बैठकले गरेको कामपाले जानकारी दिएको छ ।
बैठकमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन् ।
यो सेवालाई विस्तार गरेर उपत्यकाको उत्तर–दक्षिण र पूर्व–पश्चिम दुवै भागलाई जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एयरपोर्टदेखि चन्द्रागिरिको नागढुङ्गासम्म चार वटा बस, कीर्तिपुरदेखि काठमाडौँको नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म चार वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन आठ वटा बस सञ्चालन हुनेछन् ।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ । यसरी यात्रा गर्दा अधिकतम रु ८० भाडा लाग्नेछ ।
रात्रिकालीन बस सेवालाई विस्तार गरेर निरन्तरता दिने निर्णय गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “हामीले नाफाघाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यसहित तीन महिना परीक्षण सेवा दियौँ । विज्ञहरूको कार्यदललाई यसको व्यवस्थापन र वित्तीय सुझावका लागि जिम्मा दियौँ । यसरी गरिएको अध्ययनले सेवाको निरन्तरताका लागि तीन वटा विकल्प दिएको छ । यसमध्ये उपत्यकाका नगरपालिकाको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिँदा दिगो र सुरक्षित सेवा हुनेछ ।”
बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन निकै कठिन हुने गरेको बताउँदै उनले समस्या समाधानका लागि कामपाले योजना बनाइरहेको जानकारी दिइन् । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनिन्, “यसले काठमाडौँ र ललितपुरसँग भक्तपुरको सम्बन्ध नजिक ल्याउने विश्वास छ ।”
बैठकले रात्रिकालीन बस सेवा सञ्चालनको रुट परमिट सहजताका लागि विद्यमान यातायातसम्बन्धी कानुनमा समयसापेक्ष संशोधनका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने भएको छ ।