Butwal Today

विद्युतीय संरचना बने पनि ८ वर्षसम्म अँध्यारो, नयाँ लाइनबाट बल्ल बल्यो बत्ती

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

सल्यान । सल्यानको कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा विद्युत् विस्तारका लागि पोल र तार पुगेको करिब आठ वर्षपछि बल्ल घरघरमा बत्ती बल्न थालेको छ ।

यसअघि करिब ६ करोड रुपैयाँ खर्च गरेर विद्युत् संरचना निर्माण गरिए पनि आवश्यक कनेक्टिभिटी नहुँदा ती संरचना प्रयोगमा आउन सकेका थिएनन् । अहिले नयाँ रुटबाट विद्युत् जोडिएपछि गाउँमा विद्युत् आपूर्ति सुरु भएको हो ।

बोटेचौर–छरछरे हुँदै घुइयाबारीसम्म नयाँ ११ केभी फिडर लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । करिब दुई महिनाअघि लाइनको सफल परीक्षण गरिएको र हालसम्म ९३ वटा मिटर जडान भइसकेको कालिमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले जानकारी दिए । घुइयाबारी क्षेत्रका बाँकी बस्तीमा पनि लाइन विस्तार भइरहेको र चाँडै करिब २५० घरधुरीमा विद्युत् सेवा पुर्‍याउने तयारी भइरहेको उनले बताए ।

यसअघि कालिमाटी–६ र ७ मा २०७५ र २०७७ सालमा वितरण लाइन विस्तार आयोजना (एआईआईबी) अन्तर्गत करिब ६ करोड रुपैयाँ खर्च गरेर पोल, तारलगायतका संरचना निर्माण गरिएको थियो । तर सबस्टेसन तथा मुख्य प्रसारण लाइनसँग आवश्यक कनेक्टिभिटी नहुँदा संरचना निर्माण भएको वर्षौंसम्म पनि विद्युत् आपूर्ति हुन सकेन ।

बबईदेखि घुइयाबारीसम्म विद्युत् पुर्‍याउने उद्देश्यले निर्माण गरिएका केही संरचना अहिले पनि प्रयोगविहीन अवस्थामा रहेको स्थानीयवासी बताउँछन् ।

विद्युत् समस्या समाधानका लागि स्थानीय बासिन्दाले सम्बन्धित निकायमा पटक–पटक पहल र दबाब दिँदै आएका थिए । माग सुनुवाइ नभएपछि वडाध्यक्ष रिजालसहित स्थानीयले प्रदेश सरकारसमक्ष धर्नासमेत दिएका थिए ।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार पुराना संरचनामध्ये आवश्यक संरचना प्रयोग गर्दै थप नयाँ संरचना निर्माण र मर्मतसम्भार गरेर विद्युत् जोडिएको हो । पछिल्लो चरणको संरचना निर्माण तथा मर्मतको काम प्राधिकरणको आन्तरिक स्रोतबाट गरिएको उनले बताए ।

दुर्गम बस्तीका स्थानीयलाई सहज होस् भनेर वडाको समन्वयमा प्राधिकरणका कर्मचारी गाउँमै पुगेर मिटर जडानका लागि फारम भर्ने तथा ट्रान्सफर्मर वितरणको कामसमेत गरिरहेका छन् ।

घुइयाबारी क्षेत्रका बाँकी बस्तीमा करिब एक साताभित्र विद्युत् बल्ने गरी काम भइरहेको र वडाका अन्य बस्तीमा पनि एआईआईबीअन्तर्गत विद्युत् लाइन विस्तार गरिने सल्यान वितरण केन्द्रले जनाएको छ ।

एआईआईबीअन्तर्गतको लाइन विस्तारको काम पूरा भएपछि घुइयाबारीमा विद्युत् आपूर्ति गर्न सम्भव भएको प्राधिकरणको भनाइ छ । यसअघि निर्माण गरिएका संरचना प्रयोगमा आउन नसकेपछि नयाँ रुटबाट विद्युत् जोडिएसँगै अब स्थानीयको वर्षौंदेखिको प्रतीक्षा अन्त्य हुने अवस्थामा पुगेको छ ।

स्थानीय हिमाल मगरले लामो प्रयासपछि गाउँमा विद्युत् बलेपछि दैनिक जीवनका आधारभूत कामदेखि शिक्षा, व्यापार–व्यवसाय र सरकारी सेवा लिनेसम्म सहज भएको बताए । “विद्युत् आएपछि पठनपाठन, व्यापार, व्यवसाय, सरकारी सेवा प्रवाहदेखि धेरै आधारभूत काममा सहजता भएको छ,” उनले भने ।

सल्यान वितरण केन्द्रका प्रमुख रावलका अनुसार जिल्लामा हालसम्म करिब ७८ प्रतिशत क्षेत्रमा विद्युत् सेवा विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?