Butwal Today

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, २ जना गम्भीर घाइते

२५ भाद्र २०८३, बिहीबार
अ+
अ-

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८, पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

गएराति वर्षासँगै परेको चट्याङ लागेर पोख्राङस्थित अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल, वाना लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक राजवंशीले बताए ।

चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घाइते कट्वाल र दाहालको पाँचखपन आधारभूत अस्पताल, वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?