© 2026
दाङ। नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा दाङमा बिपी कोइरालाको प्रतिमा पुनःअनावरण तथा ‘अग्रज नेतृत्व जीवनी संग्रह’ र ‘दाङ कांग्रेस आवाज’ स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नेपाली कांग्रेस एकताबद्ध भएर आगामी १५औँ महाधिवेशनमा अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले बीपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा उहाँको स्मरण गर्दै बीपीका विचार, आदर्श र सिद्धान्तलाई आत्मसात् गरी संगठन सुदृढीकरणमा सबै नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने बताइन् ।बीपी कोइरालाका विचार र लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्दै संगठनलाई बलियो बनाउने, पुस्तान्तरणलाई प्रभावकारी बनाउने र सबैलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउनेतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले बिपीको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढनुपर्ने बताए । उनले दाङ कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा अग्रज नेतृत्वले पुर्याएको योगदान, संघर्ष र त्यागबाट वर्तमान पुस्ताले महत्वपूर्ण सन्देश लिनुपर्ने धारणा व्यक्त गरे । अग्रजहरूको अनुभव र योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई समेत साथमा लिएर नेपाली कांग्रेसलाई थप सशक्त, संगठित र गतिशील बनाउनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू केशवराज आचार्य, प्रदीपराज शर्मा र लीला नेपाली, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे , नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेलगायतको उपस्थिति रहेको थियो।
गत वर्षको जेन्जी आन्दोलनका क्रममा बीपी कोइरालाको शालिक तोडफोड भई पूर्ण रूपमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको प्रतिमाको विशेष समारोहबीच पुनःअनावरण गरिएको हो। कार्यक्रममा ‘अग्रज नेतृत्व जीवनी संग्रह’ तथा ‘दाङ कांग्रेस आवाज’ स्मारिका समेत विमोचन गरिएको थियो। प्रारम्भकालदेखि २०४६ सालसम्म दाङमा नेपाली कांग्रेसको नेतृत्व गर्दै आउनुभएका अग्रज नेताहरूको जीवन, संघर्ष, योगदान र राजनीतिक यात्रालाई समेटेर ‘अग्रज नेतृत्व जीवनी संग्रह’ ग्रन्थ प्रकाशन गरिएको हो।