© 2026
कपिलवस्तु ।
नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११३औँ जन्म जयन्तीका अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले तौलिहवास्थित बीपी स्मृति भवनमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले पार्टीको आन्तरिक निर्वाचनलाई सर्वसम्मत बनाउन सके पार्टी थप बलियो हुने बताए । महामानव बीपी कोइरालाको नीति तथा विचारअनुसार पार्टीभित्रको एकतालाई सुदृढ गर्दै आगामी निर्वाचनमा पार्टीको राम्रो उपस्थिति बनाउन आवश्यक रहेको उनले जोड दिए ।
उनले विगतमा अन्य पार्टीमा गएका व्यक्तिहरूले पार्टीको आन्तरिक एकतामा दखल पुर्याउने तथा निर्वाचन भाँड्ने उद्देश्यले सदस्यता नवीकरण गराउन थालेको भन्दै पार्टीका इमानदार नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताए । ठुलो सङ्ख्यामा रहेका अस्थिर र स्वार्थी व्यक्तिभन्दा थोरै भए पनि इमानदार कार्यकर्ताले पार्टीलाई मजबुत बनाउन सक्ने उनको तर्क थियो ।
बीपी कोइरालाको योगदान नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा महत्त्वपूर्ण रहेको चर्चा गर्दै नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खाँले लोकतान्त्रिक मूल्य, विधिको शासन, सामाजिक न्याय र जनताको अधिकारका पक्षमा बीपीले देखाएको मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा वक्ताहरूले बीपी कोइरालाले नेपाली राजनीतिमा स्थापित गरेका लोकतन्त्र, राष्ट्रियता, समाजवाद र जनअधिकारका मूल्य–मान्यतालाई वर्तमान राजनीतिक परिवेशमा समेत आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए । पूर्व जिल्ला सभापति तथा लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय र नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य अतहर कमालले बीपीको विचार र राजनीतिक दर्शनलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राखे ।
पार्टीकी लुम्बिनी प्रदेश सदस्य माया ज्ञवाली, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेमबहादुर रायमाझी, सहसचिव वीरेन्द्र शुक्ला, पूर्व जिल्ला उपाध्यक्ष रामआशीष पाण्डेयलगायतले बीपीको राजनीतिक दर्शन र विचारलाई व्यवहारमा कार्यान्वयन गर्दै पार्टीलाई जनतासँग थप जोड्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी काँग्रेस नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको आन्तरिक एकता, सङ्गठन सुदृढीकरण तथा जनताका समस्या समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । अन्तरक्रियामा जिल्लाका काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।