Butwal Today

बाढीमा दिवङ्गतप्रति दीप प्रज्वलनसहित श्रद्धाञ्जली

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल । रसुवाको भोटेकोशी–रसुवागढी क्षेत्रमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा बुटवलमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।

रोटरी क्लब अफ बुटवल चौतारीको अग्रसरतामा रोटरी डिस्ट्रिक्ट ३२९२, रिजन–५ अन्तर्गत बुटवल क्षेत्रका विभिन्न रोटरी क्लबको संयुक्त आयोजनामा बुटवल राजमार्ग चौराहामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाढीमा परी दिवंगत भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरी एक मिनेट मौन प्रार्थना गरिएको क्लवका अध्यक्ष वासुदेव भुसालले जानकारी दिए । सहभागीहरूले विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रम संयोजक डा आर सी आचार्यले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।

उनले विपत्तिका बेला मानवता, सहकार्य र एकताको भावना अझ बलियो बनाउनुपर्ने बताउँदै रोटरीले संकटमा परेका समुदायलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।

“सेवा नै रोटरीको पहिचान हो । विपत्तिको समयमा एकअर्काको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” उनले भने ।

कार्यक्रममा रिजन–५ अन्तर्गतका विभिन्न रोटरी क्लबका अध्यक्ष, पूर्वअध्यक्ष, सहायक गभर्नर, रोटरियन तथा डिस्ट्रिक्ट पदाधिकारीको सहभागिता रहेको रोटरी क्लव अफ बुटवल चौतारीका सचिव माधव पौडेलले जानकारी दिए । सहभागीहरूले दीप प्रज्ज्वलनमार्फत दिवङ्गतप्रति सम्मान व्यक्त गर्दै विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए ।

श्रद्धाञ्जली कार्यक्रमले विपत्तिमा ज्यान गुमाएका नागरिकको स्मरणसँगै दुःखको समयमा पीडितका साथमा उभिने, मानवीय संवेदना र सामाजिक एकता कायम राख्ने सन्देश दिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?