Butwal Today

सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।

नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पु¥याउने अभिव्यक्तिसहितको भिडियो सामग्री प्रसारण, पोष्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउन उद्धृत सञ्जाल प्रयोगकर्ताको निगरानी एवं पहिचान गरी सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टीकाटिप्पणीसहित समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर व्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी निगरानीको कामलाई तीव्रता दिएको जनाएको छ ।

यसै सन्दर्भमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्ने, विपद्को समयमा राहत सङ्कलनका नाममा ठगीधन्धामा संलग्न हुने र पीडामा रहेका व्यक्ति तथा परिवारजनका विषयमा अनावश्यक टिप्पणी गरी सामाजिक सद्भावमा असर पार्ने तथा पीडितलाई थप मानसिक पीडा दिने किसिमका सामग्री प्रसारण नगर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सचेत गराएको छ ।

यसबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रसुवा बाढीपछि देश तथा विदेशमा समेत चिन्ता र चासो छाइरहेको दुःखको यस घडीमा नागरिकको जिउधनको सुरक्षासहित शान्ति सुव्यवस्था कायम गर्न प्रदेश प्रहरी संयन्त्र अहोरात्र खटिएको बताए ।

उनले भने, “प्राकृतिक विपद्को समयमा पनि चोरी, ठगी तथा डकैतीलगायतका आपराधिक गतिविधिका घटना न्यूनीकरण तथा नियन्त्रणका पक्षमा प्रदेश प्रहरी सचेत छ । चोरी, तस्करी, लागुऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथिको निगरानीलाई तीव्र बनाइएको छ । सामान्य छिटपुटका घटनाबाहेक पछिल्लो समयमा प्रदेशको अवस्था सामान्य छ ।”

प्रहरी प्रशासनको सक्रियताका कारण दाङ–तुलसीपुरबाट ११ बोरा पटाकासहित २१ वर्षीय प्रेम कसौधन र २१ वर्षीय सञ्जीव गुप्ता तथा नवलपरासी–प्रतापपुरबाट स्रोत नखुलेको रु २१ लाख ६० हजार नगदसहित पाँच जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?