Butwal Today

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा कतारमा एनआरएनएको श्रद्धाञ्जली सभा

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

दोहा, कतार । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा अन्य प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

नेपालमा आएको बाढीपहिरोको १३औँ दिनको अवसरमा सोमबार साँझ दोहाको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

कार्यक्रममा बाढीपहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो । सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरेका थिए ।

कार्यक्रममा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राई, प्रथम सचिव जितेन्द्र गिरी, एनआरएनए आईसीसी तथा एनसीसीका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै एनआरएनए आईसीसीका पूर्वअध्यक्ष आरके शर्माले देश विपद्मा परेका बेला संसारभर रहेका नेपालीले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । उनले एनआरएनए एनसीसी कतार र नेपाली राजदूतावाससँग समन्वय गरेर सहयोग अभियान अघि बढाउँदा थप प्रभावकारी हुने धारणा राखे ।

नेपाली राजदूतावास कतारका प्रथम सचिव जितेन्द्र गिरीले विपद्को सुरुवाती दिनदेखि कतारमा रहेका विभिन्न संघसंस्थाले गरेको सहयोग, पहल र समन्वय प्रशंसनीय रहेको बताए । उनले आवश्यक सहयोग, सहजीकरण तथा समन्वयका लागि नेपाली नियोग प्रतिबद्ध रहेको उल्लेख गरे ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले देश दुःखमा परेको बेला सबैले एक्यबद्धता र सहानुभूति जनाउन आवश्यक रहेको बताए । उनले नेपाली राजदूतावासमार्फत कतार च्यारिटीसँग समन्वय गरी नेपालमा राहत तथा पुनःस्थापनाका लागि थप सहयोग जुटाउने विषयमा छलफल अघि बढाउनुपर्ने बताए ।

कतारमा संकलन भएको सहयोग रकमको विवरण तथा प्रतिवेदन तयार गरी पारदर्शी रूपमा सार्वजनिक गर्नुका साथै नेपाली राजदूतावासमा समेत बुझाइने अध्यक्ष पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?