© २०२३
चन्द्रौटा(कपिलवस्तु), २२ माघ ।
कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले ५४ वटा मुद्दा फछ्र्यौट गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ७० वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३० वटा फछ्र्यौट भएको न्यायिक समितिले जनाएको छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ को ११२ वटा पुराना थियो । जसमध्ये २४ मुद्दा किनारा लागेको छ । न्यायिक समितिमा विभिन्न शीर्षकका परेका विवादित उजुरीहरु दुबै पक्षसँग छलफल गरी छिनोफानो गरिएको हो ।
लामो समयदेखि विवादमा रहेका २४ वटा मुद्दा यस वर्ष मिलाउन सफल भएको नगर उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक शिवकुमारी चौधरीले बताइन् । गत वर्षका करिब एक सय बढी मुद्दा परेको मध्ये अधिकांश मुद्दा किनारा लागेको समितिले जनाएको छ ।
चालु आर्थिक वर्ष परेका उजुरी मध्ये अधिकांश जग्गा विवाद, साँध सिमाना, सार्वजनिक कुलो सम्बन्धी परेको छ । यस्तै आर्थिक लेनदेन, पारिवारिक झैझगडा, ज्याला मजदुरी र अन्य लगायत गरी ७० वटा उजुरीहरु परेको उप–प्रमुख चौधरीले बताइन् । पुराना र नयाँ हाल बाँकी रहेका एक सय २८ वटा मुद्दा समेत छिट्टै किनारा लाग्ने उनले जिकिर गरिन् ।
जनतामा न्यायिक समितिप्रति विश्वास जागेकाले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको स्थानीय सुशीला थारुको भनाई छ । न्यायोचित ढंगले न्यायिक समितिले मुद्दाको छिनोफानो गर्ने गरेको उनले जिकिर गरिन् ।