© 2026
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १८ गते बसेको बैठकले भदौ १० गतेको बाढीका कारण मृत्युवरण गर्ने व्यक्तिको सम्मानस्वरुप उक्त घटना भएको १३औँ दिनको पुण्य तिथिका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज मुलुकभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाई शोक मनाइएको हो ।
उक्त बाढीबाट मृत्यु भएकामध्ये एक हजार ३५५ को शव फेला परेको छ । चार हजार ९९६ जना अझै बेपत्ता छन् । मृत्यु भएकामध्ये अहिलेसम्म ९८ जनाको मात्र सनाखत भएको छ ।
हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।