Butwal Today

चालकलाई सडक सुरक्षाको ‘क्लास’

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

चन्द्रौटा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले सवारी चालक तथा सहचालकले सवारी नियमको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिकामा भएको एक दिवसीय ट्राफिक सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विद्यालयका सवारी चालक, सहचालकले नियमको पूर्ण पालना गर्नुपर्नेमा प्रहरी उपरीक्षक भट्टले जोड दिए । बालबालिकाको सुरक्षा चालकको पहिलो जिम्मेवारी भएकाले तीव्र गति, क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा मोबाइल प्रयोग गर्ने जस्ता गतिविधिबाट टाढा रहन उनले आग्रह गरे ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख राजन ढकालले सवारी चालक र प्रहरीबिच सहकार्य तथा नियमित समन्वय भएमा सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । ‘सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी होइन, चालक, विद्यालय र अभिभावक सबैको साझा दायित्व हो’ भट्टले भने । विद्यालयका सवारी साधनको नियमित अवस्था जाँच गर्न, चालकको स्वास्थ्य तथा सवारीसम्बन्धी कागजात दुरुस्त राख्न र विद्यार्थीलाई सुरक्षित रूपमा ओसारपसार गर्न पनि उनले आग्रह गरे ।

यसैबिच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले चालकको जिम्मेवारी यात्रुलाई गन्तव्यसम्म पु¥याउने मात्र नभई उनीहरूको जीवन सुरक्षासँग समेत जोडिएको बताए ।

सवारी चलाउँदा सामान्य असावधानीले समेत ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकाले चालकलाई संयमित र जिम्मेवार बन्न आग्रह समेत उनले गरे । रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनको आयोजनामा आइतबार भएको कार्यक्रममा बाणगंगाका विद्यालयको सवारी चालक, सहचालक तथा स्थानीय ९४ जना सहभागी थिए ।

टाउनका पूर्व अध्यक्ष बद्रीप्रसाद काफ्ले, डिस्ट्रिक्ट भोकेसनल सर्भिस चेयर वासुदेव घिमिरेलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?