© 2026
अर्घाखाँची । नेपालमा आएको हिमाली सुनामीका कारण विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि जापानमा रहेका नेपाली युवा सरोज भुसालले राहत सङ्कलन अभियान सुरु गरेका छन् ।
अर्घाखाँचीको मालारानी गाउँपालिका ५ बागी घर भएका भुसालको विशेष अनुरोध तथा आफू कार्यरत कम्पनीको सहकार्यमा टोकियो तथा कान्तो क्षेत्रका २० भन्दा बढी सुपरमार्केटमा बाढीपीडित राहत सङ्कलन बक्स राखेर राहत सङ्कलन अभियान सुरु गरेका छन् ।
करिब एक महिनासम्म सञ्चालन हुने अभियानमा सुपरमार्केटमा आउने ग्राहक तथा सर्वसाधारणले आफ्नो इच्छाअनुसार सहयोग रकम प्रदान गर्न सक्नेछन् । दैनिक उपभोग्य सामग्री खरिद गर्न जापानी तथा अन्य समुदायका नागरिक पुग्ने सुपरमार्केटमा राहत सङ्कलनको व्यवस्था गरिएको हो ।
यो पहल आर्थिक सहयोग सङ्कलनमा मात्र सीमित छैन । जापानमा रहेका नेपालीका लागि यो आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी अभिव्यक्त गर्ने माध्यम बनेको छ भने जापानी नागरिक तथा अन्य समुदायका मानिसलाई पनि नेपालमा आएको प्राकृतिक विपत्ति र त्यसबाट प्रभावित नागरिकको अवस्थाबारे जानकारी गराउने अवसर बनेको छ ।
नेपालमा बाढी आएको खबर सुन्दा देशभित्र रहेका नागरिकजस्तै विदेशमा रहेका नेपालीको मन पनि बेचैन भएको तथा विभिन्न ठाउँमा विपत्तिमा परेका नागरिकको अवस्था सम्झिँदा सहयोग गरौँ भन्ने भावनालाई व्यवहारमा उतारेका छन् । “जहाँ छौँ, त्यहीँबाट नेपालका लागि केही गरौँ।” भुसालको यो भनाइ अभियानको मूल भावना हो ।
उनी विदेशमा रहे पनि मातृभूमिमा परेको विपत्तिमा आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्नु हरेक नेपालीको सामाजिक दायित्व भएको बताउँछन् । सामान्यतया राहत सङ्कलनका अभियान नेपाली समुदायभित्र केन्द्रित हुने गर्छन् । तर भुसालको पहलमा जापानका विभिन्न सुपरमार्केटमा राहत सङ्कलनको व्यवस्था गरिएपछि अभियान नेपाली समुदायभन्दा बाहिरसम्म पुग्ने सम्भावना बनेको छ ।
सुपरमार्केटमा राखिएका राहत सङ्कलन बक्समार्फत जापानी नागरिक तथा अन्य समुदायका मानिसले समेत नेपालको विपत्तिबारे जानकारी पाउनेछन्। आफ्नो दैनिक किनमेलका क्रममा उनीहरूले नेपालका बाढीपीडितका लागि सहयोग गर्न सक्नेछन् ।
प्राकृतिक विपत्तिको पीडा कुनै देश, जाति वा समुदायको मात्र हुँदैन। विपत्तिमा परेकालाई सहयोग गर्नु मानवताको साझा धर्म हो । यही मान्यतालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा पनि भुसालको अभियानलाई लिन सकिन्छ।
वैदेशिक रोजगारी र अवसरका लागि नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेका छन्। उनीहरूले आफ्नो श्रम, सीप र पसिनाबाट परिवारको भविष्य मात्र बनाएका छैनन्, देशको अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसमाथि विपत्ति र सङ्कटका समयमा विदेशबाट नेपालका लागि सहयोग जुटाउने क्रमले उनीहरूको मातृभूमिप्रतिको सम्बन्ध अझ गहिरो रहेको देखाउँछ।
जापानमा सुरु भएको यो राहत अभियान पनि त्यही सम्बन्धको एउटा उदाहरण हो। आफ्नो वरिपरिका मानिसलाई नेपालका लागि सहयोग गर्न प्रेरित गर्नु, विदेशी भूमिमा नेपालको दुःखको कथा सुनाउनु र मानवीय सहयोगको वातावरण बनाउनु आफैँमा महत्त्वपूर्ण काम हो ।
भुसालको पहलले एउटा सरल तर गहिरो सन्देश दिन्छ—देश छाड्दैमा देशप्रतिको जिम्मेवारी सकिँदैन। भूगोलले दूरी बढाए पनि मातृभूमिप्रतिको भावना घट्दैन । नेपालमा विपत्ति पर्दा सहयोगका लागि स्वदेशमै रहेका नागरिक मात्र होइन, संसारका विभिन्न कुनामा रहेका नेपाली हातहरू पनि एकसाथ अघि बढ्न सक्छन्।
कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले राहत सामग्री जुटाउन सक्छ, कसैले सूचना फैलाउन सक्छ त कसैले आफ्नो पहुँच प्रयोग गरेर सहयोगको वातावरण बनाउन सक्छ।
त्यसैले सरोज भुसालको अभियान केवल राहत सङ्कलनको प्रयास होइन, विदेशमा रहेका नेपाली युवाले मातृभूमिप्रति निर्वाह गर्न सक्ने सामाजिक दायित्वको एउटा प्रेरणादायी दृष्टान्त पनि हो। देश टाढा होला, तर नेपाली मन र मातृभूमिप्रतिको माया कहिल्यै टाढा हुँदैन।