© 2026
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिए । उनले भने, “बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।”
उनका अनुसार सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबिच बाढीमा फसेकामध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।
प्राधिकरणका अनुसार छ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । तीमध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्किएका छन् । प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहेका छन् । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि परिचालित छन् ।