Butwal Today

मिडियामैत्री बन्न सकेनन् बाल क्लबका गतिविधि

२२ भाद्र २०८३, सोमबार
अ+
अ-

बाँके । जानकी गाउँपालिकाका बाल क्लबका पदाधिकारी तथा सदस्यहरूले बाल अधिकार संरक्षणका सवाललाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बाल क्लबले गाउँपालिकाभित्र बालविवाह तथा लागुऔषध दुव्र्यसन रोकथाम, सरसफाइ, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आए पनि ती गतिविधि स्थानीयस्तरमै सीमित भएकाले सञ्चारमाध्यममार्फत बाहिर ल्याउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आइतबार जानकी गाउँपालिकास्थित पौवा होटलमा आयोजित ‘बाल अधिकार संरक्षणका सवालमा मिडियाकर्मीसँग साक्षात्कार’ कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले आफ्ना गतिविधि, समस्या तथा बाल अधिकारका सवाललाई सञ्चारमाध्यममा प्राथमिकता दिन आग्रह गरेका हुन् ।

जानकी गाउँपालिका वडा नं १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी तथा सदस्य र स्थानीय पत्रकारबीच भएको साक्षात्कार कार्यक्रममा बाल अधिकारका विषयलाई प्रभावकारी रूपमा उठान गर्न बाल क्लब र सञ्चारकर्मीबीच नियमित समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

जानकी गाउँपालिकास्तरीय बाल क्लबका अध्यक्ष इमरान भाटले बाल क्लबले विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आए पनि ती गतिविधिले सञ्चारमाध्यममा पर्याप्त स्थान पाउन नसकेको बताए । उनका अनुसार बाल क्लबले बालविवाह रोकथाम, लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक नाटक तथा कार्यक्रम, सरसफाइ, शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।

“बाल क्लबले गरेका गतिविधि पालिकाभित्रै सीमित भएका छन्,” अध्यक्ष भाटले भने, “अब पत्रकारहरूसँग समन्वय गरेर बाल क्लबका गतिविधि, उपलब्धि र बालबालिकाका समस्यालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउने विषयमा हामी थप सक्रिय हुन्छौँ ।”

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि बाल क्लबले सञ्चालन गरेका सकारात्मक गतिविधि तथा बालबालिकाले भोगिरहेका समस्या र अधिकारका सवाललाई उजागर गर्न आफूहरू तयार रहेको बताएका छन् ।

पत्रकार कमल डाँगी, चन्द्रेश्वर त्रिपाठी, भिष्म लोध, भगतराम थारू, देवेन्द्रराज पौडेल, जागेश्वर सिंह थारू र आशा परियारले बाल अधिकारका विषयलाई समाचारमा प्राथमिकता दिँदै बाल क्लबका गतिविधिलाई सञ्चारमाध्यममा ल्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको अध्यक्षता वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले गरेका थिए ।

कार्यक्रममा हातेमालो परियोजनाका कार्यक्रम संयोजक भीमबहादुर सार्की, सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, पत्रकार तथा जानकी गाउँपालिका वडा नं। १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

यस्ता कार्यक्रमले बाल क्लबका गतिविधिलाई समुदायमा मात्र सीमित नराखी सञ्चारमाध्यमसँगको सहकार्यमा बाल अधिकारका मुद्दालाई व्यापक रूपमा उठान गर्ने आधार तयार गरेको सहभागीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?