© 2026
सिद्धार्थनगर । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रुपन्देहीमा सरकारी तथा सार्वजनिक संरचनामा ३२ करोड दुई लाख १७ हजार ८७१ रुपियाँ बराबरको क्षति भएको छ ।
आन्दोलनका क्रममा क्षतिग्रस्त भएका कतिपय कार्यालय मर्मत सम्भारपछि सञ्चालनमा आए पनि केही संरचनाको पुनर्निर्माण अझै जारी छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तयार गरेको एकीकृत क्षतिको अन्तिम प्रतिवेदनअनुसार आन्दोलनका क्रममा जिल्लाका ३० सरकारी कार्यालय र एक सार्वजनिक संस्थामा ठुलो भौतिक तथा जिन्सी क्षति भएको थियो ।
भवन, सवारीसाधन, कार्यालयका उपकरण, फर्निचर, कागजातलगायतका सामग्रीमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार ४२ वटा भवनमा क्षति पुगेकोमा छ वटा पूर्ण रूपमा ध्वस्त भएका थिए भने ३५ वटा भवनमा आंशिक क्षति पुगेको थियो । भवनतर्फ मात्रै तीन करोड ६० लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।
त्यस्तै, ६४ वटा सरकारी तथा सार्वजनिक सवारीसाधनमा क्षति पुगेकोमा ५७ वटा पूर्ण रूपमा नष्ट भएका थिए । सवारीसाधनतर्फ सात करोड ८६ लाख रुपियाँभन्दा बढीको क्षति भएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ । कार्यालयमा रहेका कम्प्युटर, फर्निचर, कागजातलगायतका जिन्सी सामग्रीमा १६ करोड ५४ लाख रुपियाँभन्दा बढीको क्षति पुगेको थियो ।
आन्दोलनका क्रममा भैरहवा भन्सार कार्यालय बेलहियाको यात्रु शाखा, श्रम तथा रोजगार कार्यालय बुटवल, राजस्व अनुसन्धान कार्यालय बुटवल, गुणस्तर तथा नापतौल कार्यालय र तिलोत्तमा उद्योग वाणिज्य सङ्घका भवनमा आगजनीबाट पूर्ण क्षति पुगेको थियो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान तथा लिलाम प्रक्रियामा रहेका सात करोड ५५ लाख रुपियाँभन्दा बढी मूल्यका माल वस्तुसमेत लुटपाट भएको प्रशासनको प्रतिवेदनमा उल्लेख छ ।
रुपन्देहीमा सबैभन्दा ठुलो भौतिक क्षति बुटवल उपमहानगरपालिकामा भएको थियो । उपमहानगरपालिकाका अनुसार आन्दोलनका क्रममा करिब पाँचदेखि छ करोड रुपियाँ बराबरको भौतिक क्षति भएको थियो । क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि उपमहानगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
आन्दोलनबाट बुटवल उपमहानगरपालिका, हेभी इक्विपमेन्ट डिभिजन, पर्यटन डिभिजन, कञ्चन गाउँपालिका, देवदह नगरपालिका, मायादेवी गाउँपालिका, मर्चवारी गाउँपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति तथा सघन सहरी विकास आयोजनालगायतका कार्यालय तथा संरचनामा पनि क्षति पुगेको थियो ।
आन्दोलनका क्रममा कार्यालयका भवन तथा उपकरणमा क्षति पुगे पनि अधिकांश सरकारी कार्यालयले वैकल्पिक व्यवस्था गरेर नागरिकलाई सेवा दिँदै आएका छन् । क्षतिग्रस्त संरचना मर्मत गर्ने, आवश्यक उपकरण खरिद गर्ने तथा केही अवस्थामा भाडाका उपकरण प्रयोग गरेर सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मेघनाथ पाध्याका अनुसार आन्दोलनका क्रममा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका संरचनामा समेत ठुलो क्षति पुगेको थियो । तत्काल पर्याप्त बजेट उपलब्ध नभएकाले पुनर्निर्माणको काम एकै पटक अघि बढाउन नसकिए पनि अहिले बजेट व्यवस्थापन हुँदै गएको उनले बताए ।
“क्षतिग्रस्त सरकारी संरचना मर्मत सम्भार गरेर कार्यालय सञ्चालनमा ल्याइएको छ । पुनर्निर्माण गर्नुपर्ने संरचनाका लागि पनि आवश्यक प्रक्रिया अघि बढेको छ,” उनले भने । उनका अनुसार बुटवल उपमहानगरपालिकामा भएको ठुलो क्षतिको पुनर्निर्माण भने अझै पूर्ण रूपमा सम्पन्न भएको छैन । उपमहानगरपालिकाले क्षतिग्रस्त संरचनालाई सामान्य मर्मतभन्दा नयाँ ढङ्गबाट पुनर्निर्माण गर्ने तयारी गरेको छ ।
पाध्याले चालु आर्थिक वर्षभित्र पुनर्निर्माण तथा मर्मत सम्भारका अधिकांश काम सम्पन्न गर्ने तयारी भइरहेको बताए । क्षतिका कारण सेवा प्रवाहमा असर परे पनि सरकारी कार्यालयले नागरिकको सेवा, सुशासन तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।
गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको ठुलो भौतिक क्षतिबाट रुपन्देहीका सरकारी संरचना प्रभावित भए पनि एक वर्षको अवधिमा अधिकांश कार्यालय पुनः सञ्चालनमा आएका छन् । क्षतिग्रस्त भवन तथा संरचनाको पुनर्निर्माण भने पूर्ण रूपमा सम्पन्न हुन बाँकी छ ।
आन्दोलनका क्रममा रुपन्देहीमा ठुलो भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन पाएन । जिल्लाभित्रका एक र जिल्लाबाहिरका एक जना प्रहरी सामान्य घाइते भएका थिए ।