© 2026
चन्द्रौटा ।
सब–डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षण, विकास र दिगो व्यवस्थापनका लागि उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् । मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
सामुदायिक वन उपभोक्ताको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा उपभोक्ता स्वयं जिम्मेवार र सचेत हुनुपर्ने सापकोटाले बताए । ‘वन संरक्षण गर्ने दायित्व राज्यको मात्र होइन, वनबाट प्रत्यक्ष लाभ लिने उपभोक्ताको पनि हो,’ उनले भने, ‘उपभोक्ता सक्रिय भए वन जोगिन्छ, वन जोगिए वातावरणसँगै समुदायको आर्थिक अवस्था पनि बलियो हुन्छ ।’ सापकोटाले वन संरक्षणसँगै वनबाट प्राप्त काठ, दाउरा, घाँस, जडीबुटी लगायतका स्रोतसाधनको वैज्ञानिक र दिगो उपयोगमा जोड दिए ।
यसैबिच वाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबै उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सामुदायिक वनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायको आयआर्जन, रोजगारी र जीविकोपार्जनमा समेत महत्त्वपूर्ण योगदान बताए ।
वन व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वन ऐन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्नुपर्ने उनीहरूले बताएका थिए । वन क्षेत्रको संरक्षणलाई थप प्रभावकारी बनाउने, वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता बढाउने तथा सामुदायिक वनबाट प्राप्त हुने लाभलाई उपभोक्तामैत्री ढङ्गले उपयोग गर्ने विषयमा जोड दिइएको वनले जनाएको छ ।
त्यस्तै सभामा समूहका अध्यक्ष दीपककुमार सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । देवकला सुनार, राधिका थापा मोहनप्रसाद अधिकारीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।