Butwal Today

आमाहरूसहित स्थानीयद्वारा बाढीपीडितलाई सहयोग

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

सल्यान ।

भोटेकोशी बाढीको पीडामा रहेका परिवारको दुःखमा सल्यान कालिमाटीका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र आमाहरूले सक्दो साथ दिएका छन् । बिपदमा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले उनीहरूले थोरै थोरै रकम जुटाएर १७ हजार ८४५ रुपैयाँ सङ्कलन गरेर उद्धार कोषमा जम्मा गरेका हुन् ।

कालिमाटी गाउँपालिका, ४ पिप्लेमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुनौला हजार दिनका आमाहरू, विभिन्न स्वास्थ्य आमा समूह तथा स्थानीय बासिन्दाले स्वैच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

रकम सानो भए पनि विपद्को समयमा पीडित परिवारको दुःखमा आफूहरू पनि साथमा रहेको सन्देश दिन अभियान सञ्चालन गरिएको र सङ्कलित रकम आइतबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रेम बहादुर सुनारले जानकारी दिए ।

अभियानमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष बेल बहादुर चन्द सहित फूलबारी स्वास्थ्य आमा समूह, हरियाली स्वास्थ्य आमा समूह, नमुना स्वास्थ्य आमा समूह र लालीगुराँस स्वास्थ्य आमा समूहका सदस्यहरूको पनि सहभागिता रहेको थियो । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय आमाहरूले समेत स्वैच्छिक रूपमा योगदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?