Butwal Today

परम्परागत उपचारकर्तालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण

२१ भाद्र २०८३, आइतबार
अ+
अ-

लमही । परम्परागत उपचारका नाममा हुने झारफुक, तन्त्रमन्त्र तथा अन्धविश्वासका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्दै मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गढवामा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बाघनाथ सामुदायिक सिकाइ केन्द्र, गढवा गाउँपालिकाको आयोजनामा बाघनाथ सामुदायिक सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो । गढवा गाउँपालिकाको समन्वय तथा सहकार्य, युनिसेफको सहयोग र समुन्नत नेपालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिकाका मनोपरामर्शकर्ता बलदेव ज्ञवालीले परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या पहिचान तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा २० जनाभन्दा बढी परम्परागत उपचारकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षणका क्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई झारफुक, तन्त्रमन्त्र वा अन्धविश्वासमा भर नपरी समयमै स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्नेमा जोड दिइएको थियो । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई झारफुक गर्ने क्रममा शारीरिक तथा मानसिक यातना दिने, बाँधेर राख्ने वा उपचारमा ढिलाइ गर्ने जस्ता गतिविधिले अवस्था झन् गम्भीर बन्न सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जाने खतरा हुने भएकाले यस्ता अभ्यासबाट बच्नुपर्ने बताइएको थियो ।

परम्परागत उपचारकर्ताहरू समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान प्रदान गरी समस्या भएका व्यक्तिलाई उचित परामर्श तथा उपचारका लागि स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा गढवा गाउँपालिका–२ का वडाध्यक्ष भक्तु चौधरीले ‘अन्धविश्वास होइन, समयमै स्वास्थ्य उपचारस झारफुक होइन, आवश्यकताअनुसार स्वास्थ्य संस्थामा उपचार’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए ।

यस्ता कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यप्रतिको बुझाइ बढाउनुका साथै समस्या देखिएका व्यक्तिले समयमै उपचार खोज्ने व्यवहारमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?