© 2026
गुल्मी । लगातारको वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण गुल्मी स्थित काली गण्डकी कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कोरिडोर सडक अन्तर्गत काली गण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहानै माथिबाट लेदो सहितको पहिरो खसेपछि सडक यातायात थप्प भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भए लगत्तै प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा तीन जनाको टोली पहिरोग्रस्त क्षेत्रमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताएका छन् ।
सडक ठप्प भएपछि बिहानैदेखि बागलुङ, बुटवल र पोखराका लागि छुटेका सम्पूर्ण सवारी साधन तथा यात्रीहरू बिच बाटोमै रोकिएका छन् । अहिले सडक निर्माण कम्पनी, स्थानीय गाउँपालिका तथा स्थानीयवासीको संयुक्त प्रयासमा पहिरो पन्छाएर सडक सुचारु गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।