© 2026
बाणगंगा । मनसुन सक्रिय हुन थालेसँगै कपिलवस्तुको बाणगंगा नगरपालिकाका बाढी प्रभावित बस्तीमा स्थानीयको चिन्ता बढ्न थालेको छ । आकाशमा बादल मडारिन थालेपछि यहाँका बासिन्दाको ध्यान खेतीपातीभन्दा बढी खोलानालातर्फ जान्छ ।
कति बेला बाढी पस्ने हो र घरभित्रको सामान जोगाउनुपर्ने हो भन्ने त्रासले स्थानीयलाई सताउने गरेको छ । बाणगंगा नगरपालिकाका विभिन्न क्षेत्र बाढीको उच्च जोखिममा छन् । विशेष गरी वडा नम्बर ७, ८ र ९ का केही बस्ती तथा छिमेकी महाराजगन्ज नगरपालिकाको हर्दौना लगायतका क्षेत्रमा हरेक वर्ष बाढीको जोखिम रहने गरेको छ ।
२०८० सालमा आएको भीषण बाढीमा बाणगंगा नगरपालिकाका ३ सय ६४ घर डुबानमा परेका थिए । बाढीका कारण घरभित्र पानी पस्ने, खाद्यान्न तथा लत्ताकपडा नष्ट हुने र दैनिक जनजीवन प्रभावित हुने समस्या यहाँका स्थानीयका लागि नयाँ होइन ।
‘मौसम सक्रिय हुनासाथ डर लाग्छ,’ बाणगंगा–८ मधुवन भाटाकी सुनकली नेपालीले भनिन्, ‘खोलामा बाढी आयो कि भनेर हेर्न जानुपर्छ । रातिको समयमा पानी परेपछि बाढी हेर्न जान्छौँ । बाढी बढेको देखिए सामान लिएर भाग्नुपर्ने अवस्था आउँछ ।’ उनका लागि बाढी केवल प्राकृतिक विपद् मात्र होइन, हरेक वर्ष दोहोरिने त्रास हो । वर्षायाममा रातको समयमा पानी पर्दा परिवारका सदस्यहरू निदाउन समेत नसक्ने उनी बताउँछिन् ।
स्थानीय लक्ष्मी नेपालीका अनुसार यस वर्ष बाढी पस्ने क्षेत्रमा ठूला मुडाले पानीको बहाव छेकिएका कारण अहिलेसम्म ठुलो समस्या देखिएको छैन । तर विगतका वर्षमा आएको बाढीले घरमा राखिएको खाद्यान्न तथा लत्ताकपडामा क्षति पु¥याएको उनको अनुभव छ । ‘रातिमा बाढी आयो भने धेरै डर लाग्छ,’ उनले भनिन्, ‘कुन बेला घरभित्र पानी पस्छ भन्ने थाहा हुँदैन ।’
स्थानीय बुधई थारुले बाढीको समस्या हरेक वर्ष दोहोरिए पनि यसको दीर्घकालीन समाधानतर्फ पर्याप्त ध्यान नदिइएको बताउँछन् । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा रोकथामका उपाय प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ । उनले भूमिहीन तथा सुकुम्बासीका लागि लालपुर्जा वितरण गर्न समेत आग्रह गरेका छन् ।
बाणगंगा नगरपालिकाका ग्रामीण बस्ती मात्र होइन, बजार क्षेत्रसमेत वर्षायाममा डुबानको जोखिममा पर्ने गरेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेलका अनुसार विगतका वर्षमा बाणगंगा–१ जितपुर र बैरियाका बजार क्षेत्र तथा वडा नम्बर २ को पिपरा–कलौनामा पानीको उचित निकास नहुँदा जलमग्न हुने गरेको थियो ।
उनले बाढीको समयमा ड्याम तथा पानीको बहाव व्यवस्थापन गर्न सके ठुलो क्षति रोक्न सकिने बताए । ‘बाढी आएको समयमा पानीको निकास व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ पौडेलले भने, ‘समयमै ड्याम खोल्न सकियो भने क्षति कम गर्न सकिन्छ ।’
बाणगंगा–७ का वडाध्यक्ष विष्णु गिरीका अनुसार कोइली बनगाईदेखि धैरेनी डाँडा जोड्ने सडक आसपासका करिब २ सय घर बाढीको उच्च जोखिममा छन् । उनका अनुसार मोतीपुरदेखि कपिलधाम जोड्ने कजवे पुलमा विगतमा आएको भीषण बाढीका कारण ६ जनाको ज्यान गएको थियो । तीमध्ये तीन जना विद्युत् कर्मचारी र अन्य तीन जना स्थानीय रहेको उनले बताए ।
लक्ष्मणघाटको बाँध सिँचाइका लागि पानी दक्षिणतर्फ लैजाने क्रममा प्रयोग हुने साँचो तथा पानीको बहाव व्यवस्थापनमा समस्या हुँदा रातिको समयमा अचानक बाढी आए कोइली बनगाईतर्फ पानी फर्किने जोखिम रहेको वडाध्यक्ष गिरीको भनाइ छ । बाढीको जोखिम उच्च छ तर वडा तहमा छुट्टै विपत् तथा राहत कोष सञ्चालन गर्ने कानुनी व्यवस्था छैन । उनले भने, “त्यसैले नगरपालिकामै भर पर्नुपर्छ । विपत् आएपछि सम्बन्धित वडामा तत्काल राहत पु¥याउन पनि ढिलाइ हुने गरेको छ ।”
कार्यपालिका सदस्य तथा बाणगंगा–८ की वडा सदस्य शारदा परियारका अनुसार बाणगंगा पुलको उत्तरी भेगमा रहेको दुर्गा मन्दिर, मधुवन भाटा तथा दक्षिणी भेगको बालापुर–सिसेनी क्षेत्र बाढीको जोखिममा छन् । बाढीको जोखिम भए पनि स्थानीय तहले विपद् व्यवस्थापनका लागि केही तयारी अघि बढाएको जनाएको छ ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालका अनुसार नगरपालिका र रेन परियोजनाको साझेदारीमा सितगंगाको पावरामा अग्रिम सूचना दिने व्यवस्था गरिएको छ । बाणगंगा, बुद्धभूमि र महाराजगन्ज नगरपालिका तथा यशोधरा गाउँपालिकाले संयुक्त रूपमा सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गणलाई नयाँ बोट हस्तान्तरण गरेको उनले बताए । उनका अनुसार बाढी, सर्पदंश र आगलागीलाई नगरपालिकाले मुख्य जोखिमका रूपमा पहिचान गरी न्यूनीकरणमा विशेष ध्यान दिएको छ ।
नगरपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख सान्तराज आचार्यका अनुसार विपत् व्यवस्थापन कोषमा ६६ लाख २२ हजार ३८ रूपैयाँ रहेको छ । उनका अनुसार बाढीबाट जलमग्न हुने स्थानमा पानी निकासको तयारी गरिएको छ भने बाढीपीडितका लागि सुरक्षित स्थानसमेत तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बाढी प्रभावित क्षेत्रमा जनचेतनामूलक कार्यक्रम तथा आवश्यक सूचना प्रवाह गर्ने काम भइरहेको छ । उनका अनुसार सम्भावित विपद्का बेला प्रयोग गर्न लाइफ ज्याकेट, डोरी, रबर बोट, टर्च लाइट लगायतका उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ ।
पूर्वतयारी र उद्धारका लागि स्थानीय तह तथा सुरक्षा निकायले तयारी गरिरहेको भए पनि जोखिम युक्त बस्तीको स्थायी व्यवस्थापन, पानीको सहज निकास, नदी तथा खोलाको बहाव व्यवस्थापन र पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
मनसुनको समय अझै बाँकी रहेकाले बाणगंगाका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिक भने आकाशतर्फ हेर्दै सम्भावित विपत्को पर्खाइमा छन् ।