Butwal Today

रसुवा बाढी पहिरो: रुपन्देहीका ३१ जना बेपत्ता, सीमावर्ती क्षेत्रसम्म पुगे शवहरू

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

सिद्धार्थनगर । रसुवामा भएको विनाशकारी घटना र त्रिशूली नदीको बाढीका कारण रुपन्देही स्थायी ठेगाना भएका ३१ जना सर्वसाधारण तथा सुरक्षाकर्मी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा जलविद्युत् आयोजनाका श्रमिक, सवारी चालक, भ्रमणमा गएका पर्यटक तथा कार्यक्षेत्रमा खटिएका नेपाल प्रहरीका जवानसमेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्राप्त विवरण अनुसार बेपत्ता हुनेहरूमा रुपन्देहीका सैनामैना, सिद्धार्थनगर, बुटवल, मायादेवी, कञ्चन, तिलोत्तमा, रोहिणी, देवदह, कोटहीमाई र शुद्धोधन गाउँपालिकाका बासिन्दा छन् ।

बेपत्ता हुनेहरूमा अधिकांश माथिल्लो त्रिशूली, ३ ए, ३ बि, मैलुङ, रसुवा र एभ्रिङ लगायतका हाइड्रोपावर कम्पनीमा इलेक्ट्रिसियन तथा कामदारका रूपमा कार्यरत थिए । त्यस्तै नुवाकोट र रसुवागढी भन्सार क्षेत्रमा जेसिभी तथा ट्रक चालक र सामान लोड–अनलोड गर्ने मजदुरहरू पनि सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्राप्त नामावलीअनुसार बेपत्ता हुनेमा मायादेवी गाउँपालिका–८ का अब्दुल खान र शिवनाथ थारु, सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीका शिव प्रसाद चौधरी, बुटवल उपमहानगरपालिका–९ चौराहाका लक्ष्मण ज्ञवाली र झगेन्द्र ज्ञवाली रहेका छन्।

त्यस्तै सैनामैना नगरपालिका–५ का प्रेम राज जैसी,सैनामैना–६ दुधराक्षका जिवन चौधरी, कञ्चन गाउँपालिका–४ का लिल कुमार सुनार, तिलोत्तमा नगरपालिका–१४ खैरियाका वसन्त थारु, कञ्चन गाउँपालिका–५ सन्दुहवाका महेश आचार्य, सिद्धार्थनगर नगरपालिका–३ भैरहवाका निरज बाबु रेग्मी पनि बेपत्ता सूचीमा छन् ।

यसैगरी रोहिणी गाउँपालिका–२ का प्रहरी जवान सन्दिप भर, बुटवल उपमहानगरपालिका–१२ का अनुप गिरी र अनुप पुन, कोटहीमाई गाउँपालिका–६ का प्रहरी जवान राम किशोर जोशी, सैनामैना नगरपालिका–५ का गणेज ज्ञवाली, बुटवल–१२ का गणेज प्रसाद अधिकारी, बुटवल–११ होराइजनका शिवनाथ अधिकारी बेपत्ता भएको विवरणमा उल्लेख छ । बेपत्ता हुनेको सूचीमा शुद्धोधन गाउँपालिका–३ चारपाटाका निराजन पंगेनि, सैनामैना–४ का गणेश ज्ञवाली, कञ्चन गाउँपालिका–१ तल्लो दानपुरका गिरिश बि.क., देवदह नगरपालिका–१० रेगमीठका धन बहादुर परियार तथा देवदह नगरपालिका–७ का आस्विन अधिकारी र अस्मित अधिकारी पनि छन् ।

यस्तै रसुवागढी प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका जवान सन्दिप भर र राम किशोर जोशीसमेत ड्युटीकै क्रममा बेपत्ता भएका छन् । धुन्चेबाट सम्पर्कविहीन भएका नारायण ढकाल र उनको श्रीमती मथुरा ढकाल भने सम्पर्कमा आएका छन् । बेपत्ता सबैका परिवार तथा आफन्तको सम्पर्क विवरण सङ्कलन गरी खोजी कार्य तीव्र पारिएको छ ।

 बाढीको प्रकोपः भारतको नाकासम्म पुगे शव
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले त्रिशूली नदीको बाढीले बगाएर ल्याएका शव तथा मानव अङ्गहरू नेपाल–भारत सीमा क्षेत्रसम्म पुगेको बताएका छन् ।

बाढीले बगाएर ल्याएका शव तथा मानव अवशेषहरू विभिन्न स्थानबाट सङ्कलन गरिएको उनले जानकारी दिए । उनका अनुसार रुपन्देहीमा व्यवस्थापनका लागि पूर्वी नवलपरासीबाट ३ वटा, पश्चिम नवलपरासीबाट ७८ र भारतको सीमावर्ती सुनौली–बेलहिया नाका नजिकबाट ९ वटा गरी  हालसम्म कुल ९० वटा शव तथा अवशेष रुपन्देही ल्याइएको छ ।  जसमा २४ महिला, ३६ पुरुष, १ बालबालिका र २९ वटा मानव अंग/अवशेष रहेका छन् ।

फेला परेका सम्पूर्ण शव तथा अङ्गहरूको लास जाँच प्रकृति मुचुल्का र पोष्टमार्टम जस्ता कानुनी प्रक्रिया पूरा गरी डिएनए स्याम्पलिङ लिइएको चन्द बताउछन । थप व्यवस्थापनका लागि ती शवहरूलाई नवलपरासी पठाइएको छ । हालसम्म सङ्कलित शवमध्ये गोरखा, बैतडी र धादिङका १/१ जना गरी ३ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ ।

बाँकी शवहरूको पहिचानका लागि आफन्तहरूले दिएको निवेदनका आधारमा डिएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । बाढीका कारण प्रभावित तथा हराएका पीडितहरूको यकिन तथ्याङ्क सङ्कलन कार्य अझै जारी रहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?