© 2026
बुटवल । पढाइसँगै सामाजिक सेवा र मानवीय दायित्वप्रति विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले कान्ति माध्यमिक विद्यालयका विद्यार्थीले बाढी प्रभावित नागरिकका लागि एक लाख २० हजार रुपियाँ सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो नियमित खाजा खर्चबाट केही रकम बचत गरी विपद्मा परेका नागरिकका लागि सहयोग जुटाएका हुन् । विद्यार्थीको सानो–सानो बचतबाट सङ्कलित रकम एकमुष्ट एक लाख २० हजार रुपियाँ पुगेको हो ।
कान्ति जुनियर रेडक्रस सर्कलको संयोजनमा कान्ति छात्र सञ्जाल, कान्ति बाल क्लब, कान्ति साइन्स क्लब र कान्ति विद्यार्थी क्लबको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो । अभियानमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए ।
विद्यार्थीले दैनिक खाजाका लागि अभिभावकबाट पाउने रकममध्ये केही रकम छुट्टाएर सहयोग कोषमा जम्मा गरेका थिए । विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीले स्वैच्छिक रूपमा अभियानमा सहभागिता जनाएको विद्यालयले जनाएको छ ।
सङ्कलित रकम विद्यार्थीले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका छन् । विद्यालय प्रशासनले विद्यार्थीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
विद्यालयका शिक्षक महेश खनालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाबारे व्यवहारिक रूपमा सिकाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार विपत्का बेला आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास गराउन अभियान प्रभावकारी भएको छ । “विद्यार्थीले आफ्नो खाजा खर्चबाट समेत रकम बचत गरेर विपद्मा परेका नागरिकलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण सिकाइ हो,” उनले भने, “यसबाट विद्यार्थीमा सहयोगी भावना र सामाजिक उत्तरदायित्व बोध विकास हुन्छ ।”
विपद्का समयमा सरकार, विभिन्न सङ्घसंस्था र सामाजिक संस्थाले मात्रै सहयोग गर्नुपर्ने मान्यताभन्दा माथि उठेर विद्यार्थीले आफ्नो क्षमताअनुसार सहयोग गर्नु सकारात्मक पक्ष भएको विद्यालयको भनाइ छ । सानै उमेरदेखि सामाजिक काममा सहभागी गराउँदा विद्यार्थीमा सेवा, सहयोग र मानवीयताको भावना विकास हुने विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यार्थीलाई पढाइमा मात्रै सीमित नराखी समाज र समुदायप्रतिको दायित्वबोध गराउने उद्देश्य विद्यालयको रहेको बताए । दैनिक जीवनमा प्रयोग हुने खाजा खर्चबाट समेत केही रकम बचत गरी विपत् प्रभावित नागरिकका लागि सहयोग गर्नु विद्यार्थीका लागि व्यवहारिक सामाजिक शिक्षा भएको उनको भनाइ छ ।
“विद्यार्थीले आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने संस्कार विकास गर्नु अहिलेको आवश्यकता हो,” प्रधानाध्यापक ज्ञवालीले भने, “यसले विद्यार्थीलाई भविष्यमा जिम्मेवार र संवेदनशील नागरिक बन्न पनि प्रेरित गर्छ ।” विद्यालयले आगामी दिनमा पनि विद्यार्थीलाई सामाजिक सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा समुदायसँग सम्बन्धित विभिन्न गतिविधिमा सहभागी गराउँदै जाने जनाएको छ ।