Butwal Today

बाढीले घर–परिवार गुमाएकी मिरालाई एनआरएनए कतारले पठायो नेपाल

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

दोहा, कतार । रसुवाको उत्तरगया गाउँपालिका–१ की मिरा कुमारी तामाङलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) (एनसीसी) कतारले हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको छ।

नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश समन्वय परिषद् कतारले मिरालाई नेपाल फर्काउन हवाई टिकटको व्यवस्था गरिदिन एनआरएनए एनसीसी कतारसमक्ष लिखित रूपमा संस्थागत निवेदन गरेको थियो।

सोही निवेदनका आधारमा हिमालयन एयरलाइन्समार्फत उनलाई नेपाल पठाइएको एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले जानकारी दिए।

करिब दुई वर्षअघि रोजगारीका लागि कतार आएकी मिरा कम्पास क्याटरिङ कम्पनीमा काम गर्न थालेकी थिइन्। कतार आएको करिब छ महिनामै उनको कन्ट्र्याक्ट टुटेपछि लामो समयदेखि फ्रीलान्सर भिसामा साथीहरूको सहयोगमा बस्दै आएकी थिइन्।

रोजगारी नहुँदा आर्थिक रूपमा समस्यामा रहेकी मिरामाथि नेपालमा आएको बाढीपहिरोले थप ठूलो बज्रपात ल्यायो। उनको घर बाढीले बगाउनुका साथै परिवारका सदस्यहरूसमेत सम्पर्कविहीन बनेका छन्।

‘न जागिर छ, न पैसा छ, घरमा पनि बाढीले सबै बगाइदियो,’ उनले बुटवल टुडेसँगको कुराकानीमा भनेकी छन्, ‘अहिलेसम्म सासू–ससुरा, देवर र जेठाजुहरू सम्पर्कमा हुनुहुन्न। छोरी काठमाडौंको अस्पतालमा छ।’

आफू अत्यन्तै कठिन परिस्थितिमा रहेका बेला नेपाल फर्कनका लागि हवाई टिकटको व्यवस्था गरिदिएकोमा उनले एनआरएनएप्रति आभार व्यक्त गरिन्। दुःखको समयमा प्राप्त सहयोग आफूले कहिल्यै नबिर्सने बताउँदै उनले एनआरएनएले लगाएको यो गुन जीवनभर सम्झिरहने बताइन्।

कतारमा कार्यरत नेपाली श्रमिकका उनीहरूका परिवारमा आइपर्ने समस्या, दुःख तथा विपद्का समयमा सहयोग गर्दै आएको एनआरएनए एनसीसी कतारले पछिल्लो समय नेपालमा आएको बाढीपहिरोबाट प्रभावित नेपाली श्रमिकका परिवारलाई लक्षित गर्दै उद्धार तथा राहतका कामलाई समेत प्राथमिकता दिएको छ।

नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि एनआरएनए एनसीसी कतारले राहत तथा उद्धारका लागि कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरी रकम संकलनको अभियानसमेत अघि बढाएको छ। विपद्बाट प्रभावित परिवारसम्म राहत पुर्‍याउने तथा आवश्यक परे उद्धार र अन्य सहयोग उपलब्ध गराउने उद्देश्यले संस्थाले विभिन्न पक्षसँग समन्वय गरिरहेको जनाएको छ।

यसैगरी, कतारमा रहेका नेपाली श्रमिक तथा उनीहरूका परिवारमा बाढीपहिरोका कारण मानवीय वा भौतिक क्षति भएको भए एनआरएनए एनसीसी कतारले सञ्चालनमा ल्याएको हटलाइन सेवामार्फत सम्पर्क गरी आफ्ना समस्या तथा अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ।

यसअघि पनि एनआरएनए एनसीसी कतारले नेपालमा आएको बाढीपहिरोका कारण प्रभावित नुवाकोटमा बस्दै आएका धनकुटा मारेक कटहरेका धनबहादुर गुरुङलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाएको थियो ।

बाढीले गुरुङको घर बगाएको तथा उनकी आमा बेपत्ता रहेको अवस्थामा एनआरएनए एनसीसी कतारले हवाई टिकटको व्यवस्था गरी उनलाई नेपाल फर्कन सहयोग गरेको थियो।

एनआरएनए एनसीसी कतारले पनि कतारमा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?