Butwal Today

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसमा कपिलवस्तुमा अन्तरक्रिया          

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

कपिलवस्तु ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औँ राष्ट्रिय दिवसका अवसरमा कपिलवस्तुको कृष्णनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाको सहयोग तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, मानव अधिकारको अवस्था र यस विरुद्ध अपनाउनु पर्ने उपायका विषयमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन भएको र बेचबिखनका गतिविधिमा प्रविधिको प्रयोग गर्न थालिएकाले सबै निकाय सो विषयमा सहज हुनु पर्नेमा जोड दिए । जिल्लाको तौलिहवा सहित चन्द्रौटा सहितका मुख्य बजारमा होटेल व्यवसायका नाममा यौन व्यवसाय भएको गुनासो आउने गरेकाले प्रशासनको ध्यान जानु पर्नेमा कार्यक्रमका सहभागीले जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले कपिलवस्तु जिल्लामा मानव अधिकारको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि राज्यका निकाय, स्थानीय तह, नागरिक समाज तथा समुदायबिच सहकार्य आवश्यक रहेको बताए ।

जिल्ला न्यायाधिवक्ता कृष्ण चन्द्र पाण्डेयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनमा भएका कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए । उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुनमा भएका व्यवस्था, पीडितको संरक्षण तथा दोषीलाई हुने कानुनी कारबाहीका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारको जोखिम, यसको रोकथाम, पीडितको उद्धार तथा पुनः स्थापना र नियन्त्रणका लागि सरोकारवाला निकायको भूमिका लगायतका विषयमा समेत अन्तरक्रिया गरिएको थियो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव बेचबिखनको फेरिएको स्वरूप नियन्त्रणका लागी सूचना आदान प्रदान र निगरानीमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

भोटेकोशीमा आएको बाढीका कारण देश शोकमा रहेकाले दिवसको पूर्व सन्ध्यामा कृष्णनगरमा बृहत् रूपमा आयोजना गरिएको र्‍याली सहितको कार्यक्रमलाई छोटो अन्तरक्रियात्मक कार्यक्रममा परिमार्जन गरिएको प्रजिअ गौतमले जनाए ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा यसको नियन्त्रणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास डिभिजन कपिलवस्तुका वरिष्ठ शिक्षा अधिकृत पुष्यप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक मनोहर भट्ट, सशस्त्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, प्रहरी निरीक्षक कृष्ण बहादुर खड्का, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईँ सहित मानव बेचबिखन रोकथाममा क्रियाशील सामाजिक सङ्घ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?