© 2026
गुल्मी । स्वास्थ्य सेवाका विभिन्न सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै धुर्कोट गाउँपालिका गुल्मी जिल्लामै पहिलो भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तम्घासमा आयोजना गरेको स्वास्थ्य समीक्षा कार्यक्रममा धुर्कोट गाउँपालिका जिल्लाका १२ स्थानीय तह मध्य स्वास्थ्य सेवातर्फ उत्कृष्ट बनेको हो ।
आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाको काम तथा समग्र स्वास्थ्य अवस्थाबारे समीक्षा गरिएको थियो । विभिन्न २८ वटा सूचक र एक सय भन्दा बढी सूचकाङ्कका आधारमा गरिएको मूल्याङ्कनमा धुर्कोट गाउँपालिकाले ८० दशमलव २५ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कमल गौतमले जानकारी दिएका छन् ।
त्यसै गरी जिल्लामा ८० दशमलव ७७ अङ्क प्राप्त गर्दै इस्मा गाउँपालिका दोस्रो र ७९ दशमलव ४ अङ्क प्राप्त गर्दै रुरुक्षेत्र गाउँपालिका तेस्रो भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका स्थानीय तहका स्वास्थ्य संयोजकलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण खत्री, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
स्थानीय तहको वर्षभरको कार्यसम्पादनका आधारमा लुम्बिनी प्रदेश सरकारले निर्धारण गरेका सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको थियो । मूल्याङ्कनमा खोप सेवा, सुरक्षित मातृत्व, बालरोग, क्षयरोग, वित्तीय प्रगति, परिवार नियोजन, पोषण लगायतका स्वास्थ्य सम्बन्धी सूचक समावेश गरिएको थियो ।
जिल्लामै पहिलो भएको धुर्कोट गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा नियमित मासिक बैठक, घुम्ती बैठक तथा बैठकमा तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरणलाई प्राथमिकता दिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य शाखा तथा सम्बन्धित सबै पक्षको सहकार्यका कारण गाउँपालिकाले जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए ।
स्वास्थ्य संस्था प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखको नियमित सहभागिता, तथ्याङ्क अनलाइन प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्था तथा सेवाको निरन्तर अनुगमनका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले बताएका छन् ।