© 2026
जितपुर (कपिलवस्तु) । बाणगंगा नगरपालिका–१ जितपुरका किसान खेतीपातीको समयमा मल र गुणस्तरीय बिउको अभाव तथा उत्पादन बिक्री गर्ने बेला उचित बजार नपाउने समस्याबाट हैरान छन् ।
खेतीका लागि आवश्यक सामग्री समयमै नपाउँदा लागत बढ्ने र उत्पादन बिक्री गर्दा उचित मूल्य नपाउँदा आम्दानी घट्ने गरेको किसानको गुनासो छ ।
धान खेतीको मुख्य समयमै मलखादको अभाव भएपछि किसानलाई समस्या भएको स्थानीय कृषक सुस्मा भट्टराईले बताइन् । ‘हाम्रो मुख्य बाली धान हो । समयमै मल र बिउ नपाउँदा उत्पादनमा असर पुग्छ,’ उनले भनिन्, ‘उत्पादन बढाउने गरी खेती गरे पनि बजारमा उचित मूल्य नपाउँदा अपेक्षित आम्दानी हुँदैन ।’
जितपुर, उत्तमनगर र बैरियालगायत क्षेत्रमा किसानले हरेक वर्ष मल र बिउको समस्या भोग्दै आएको बताएका छन् । धान, गहुँ, मकै, तोरी, तरकारी, फलफूल तथा अन्य नगदे बाली उत्पादन गर्ने किसानले मल र बिउसँगै सिँचाइ, कृषि सामग्री तथा बजार व्यवस्थापनको समस्या झेल्दै आएका छन् ।
अर्का कृषक ठाकुरप्रसाद घिमिरेले खेती सुरु गर्दा मल र बिउको चिन्ता तथा उत्पादन भएपछि मूल्यको चिन्ता हुने गरेको बताए । ‘खेतीका लागि आवश्यक मल र बिउ समयमै पाइँदैन । उत्पादन भएपछि पनि राम्रो मूल्य पाइने हो कि होइन भन्ने चिन्ता हुन्छ,’ उनले भने, ‘लागत बढ्दै गएको छ तर उत्पादनको मूल्य त्यसअनुसार बढेको छैन ।’
बाणगंगा मौरीपालन तथा मह उत्पादक सहकारी संस्थाका व्यवस्थापक नेत्र शर्माका अनुसार वडा नं. १ का एक हजार २७९ जना किसान सहकारीमा दर्ता भएका छन् । किसानलाई खेतीको विभिन्न चरणमा मल आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसकेको उनले बताए ।
उनका अनुसार पहिलो चरणमा एक हजार २०० क्विन्टल डिएपी र एक हजार ८०० क्विन्टल युरिया आवश्यक पर्ने भए पनि आर्थिक वर्ष २०८२/८३ मा सहकारीमा ५६० क्विन्टल डिएपी र ९२७ क्विन्टल युरिया मात्र आएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चरणमा भने १७५ क्विन्टल डिएपी र ७० क्विन्टल युरिया आएको शर्माले बताए ।
किसानले विशेष गरी जेठ, असार, साउन, भदौ, कात्तिक र मङ्सिरमा मलको माग गर्ने गरेको उनले जानकारी दिए । ‘खेतीको मुख्य समयमा किसानको मागअनुसार मल उपलब्ध हुन नसक्दा समस्या हुने गरेको छ,’ शर्माले भने । बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेषबहादुर केसीका अनुसार नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म छ हजार १३ मेट्रिक टन डिएपी र चार हजार ४०१ मेट्रिक टन अन्य मल कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङबाट आएको छ । नगरपालिकाका २६ वटा कृषि सहकारीमार्फत किसानलाई मल वितरण हुँदै आएको उनले बताए ।
नयाँ किसान सूचीकरणअनुसार बाणगंगा नगरपालिकामा १४ हजार ४०० किसान आबद्ध छन् । तीमध्ये वडा नं. १ मा ८६० जना किसान सूचीकरणमा रहेको केसीले बताए । नगरपालिकाले किसानका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्नुका साथै अनुदानमा कृषि सामग्रीसमेत वितरण गर्दै आएको उनको भनाइ छ ।
तर किसानको समस्या मलमा मात्र सीमित छैन । उत्पादन तयार भएपछि बजार र मूल्यको समस्या पनि उत्तिकै रहेको उनीहरू बताउँछन् । बिचौलियाको भर पर्नुपर्ने, उत्पादनको उचित मूल्य नपाउने तथा बजारको सुनिश्चितता नहुँदा मेहनतअनुसार आम्दानी हुन नसकेको किसानको गुनासो छ । कृषिमा निर्भर परिवारका लागि उत्पादनको लागत घटाउन समयमै मल, गुणस्तरीय बिउ, सिँचाइ र कृषि सामग्री उपलब्ध गराउनुका साथै उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कृषि उत्पादन बढाउन किसानले मेहनत गरे पनि उत्पादनको लागत, बजार र मूल्यबिच सन्तुलन हुन नसके कृषि पेसाप्रति आकर्षण घट्न सक्ने स्थानीय किसान बताउँछन् । त्यसैले मल र बिउको नियमित आपूर्तिसँगै स्थानीय उत्पादनको बजारीकरण, भण्डारण र उचित मूल्यको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।