© 2026
काठमाडौँ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ५५७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका ३८५ जना सम्पर्कविहीन रहेको जनाएको छ ।
हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोका ९४ जना सम्पर्कविहीन छन् । नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिका १५ जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका सात जना तथा मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ५६ जना अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा छन् ।
कम्पनीका अनुसार सम्पर्कविहीन रहेकामध्ये करिब ११५ जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फसेको आशङ्का गरिएको छ । आयोजनाबाट ८७६ जनाको उद्धार गरिएको कम्पनीले जनाएको छ ।
यो आयोजना रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको थियो । आयोजना २०८४ साउनभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
कम्पनीका अनुसार बाढीले आयोजना निर्माण सम्पन्न हुनलागेको बाँधलगायतका संरचना (हेडवर्क्स) तथा कार्यालय र आवास क्षेत्र पूर्णरूपमा बगाएको छ ।
बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि अत्यन्त छोटो समयमा ठूलो बाढी तथा लेदो आयोजनास्थलमा प्रवेश गरेका कारण निर्माणस्थल तथा कार्यालयमा कार्यरत अधिकांश कर्मचारी तथा श्रमिक सुरक्षित स्थानतर्फ जान नसकेको कम्पनीले जनाएको छ । आयोजनामा त्यसबेला एक हजार ४३३ जना जनशक्ति कार्यरत थिए ।
त्यसमध्ये प्रवर्द्धक कम्पनीका तर्फबाट २७ जना, परामर्शदाता ट्र्याक्टावेल तथा जेड कन्सल्टका तर्फबाट २० जना, मुख्य निर्माण ठेकेदार डुसानका तर्फबाट ७८ जना, मुख्य सिभिल सहायक ठेकेदार पावर चाइनाका तर्फबाट एक हजार ६९ जना र इलेक्ट्रोमेकानिकल सहायक ठेकेदार एन्ड्रिज हाइड्रोतर्फबाट २३९ जना आयोजनास्थलमा कार्यरत थिए ।
कम्पनीले विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सुरुङभित्रको जोखिम तथा थप पहिरोको सम्भावना र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको जनाएको छ । कम्पनीले अझै पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।