© 2026
काठमाडौं । नागढुंगा–नौबिसे सडक खण्ड भासिएको छ ।धादिङ सडक डिभिजन कार्यालयका अनुसार नागढुंगानजिकै पातले वनमा सडक भासिएको हो ।
सडक विभागका इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सडक भासिएपछि उक्त सडकमा गाडी एकतर्फी रूपमा सञ्चालन गरिएको छ । सडक भासिएपछि पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै यो रुटबाट सञ्चालन गर्न दिइएको उनले बताए ।
यो रुट भएर आउने अन्य गाडीलाई भने सुरुङमार्गबाट पठाउने तयारी भइरहेको अर्यालले जानकारी दिए । सडकको पर्खाल पुरानो भएका कारण सडक भासिएको हुन सक्ने उनले बताए । अर्यालले भने, ‘सडकको पर्खाल धेरै पुरानो थियो । पुरानो भएकै कारण पर्खाल भत्किएपछि सडक भासिएको हुन सक्छ । तर, के कारणले सडक भासिएको हो भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै यकिन हुन्छ ।’
सडक विभागको प्राविधिक टोली सडक भासिएको स्थानमा पुगेर अध्ययन गरिरहेको अर्यालले बताए ।