© 2026
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा अन्य स–साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ । महाशाखाले बुधबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा यी दुई जिल्लामा बाढीको उच्च जोखिम रहेको उल्लेख गरिएको हो ।
यसैगरी, देशका अन्य तीन दर्जनभन्दा बढी जिल्लाका स–साना नदीमा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ । यद्यपि, ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज बिहान गरिएको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ ।
तर, आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदी बेसिनका नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्नेछ ।
नारायणी बेसिनअन्तर्गत पर्ने त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा आज र भोलि जलसतह उल्लेख्य रूपमा बढेर जोखिम तहसम्म पुग्न सक्ने अनुमान गरिएको छ । त्यस्तै, बुढीगण्डकी, मर्स्याङ्दी र सेती नदीमा पनि बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
त्यस्तै, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढेर फ्ल्यास फ्लड आउन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि पनि सातै प्रदेश भएर बहने केही स–साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ । नदी तथा खोलाको आसपासका बासिन्दा, यात्रु तथा अन्य सरोकारवालालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
