Butwal Today

पञ्चकन्याको एक करोड ५५ लाख राहत सहयोग

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल । देशका विभिन्न स्थानमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि औद्योगिक घराना पञ्चकन्या समूहले राहत तथा पुनर्निर्माणका लागि एक करोड ५५ लाख रुपियाँ सहयोग गरेको छ ।

समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो । बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति संवेदना व्यक्त गर्दै राष्ट्रिय राहत तथा पुनर्निर्माण अभियानमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको समूहले जनाएको छ ।

पञ्चकन्या समूहले स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा हरेक वर्षझैँ औपचारिक उत्सव नगरी विपत्मा परेका नागरिकलाई सहयोग गर्ने निर्णय गरेको हो । समूहको स्थापना २०३३ साल भदौ १५ गते भएको हो । वार्षिकोत्सवमा विभिन्न सामाजिक कार्यक्रमसहित समारोह आयोजना गर्ने गरिए पनि यस पटक मुलुक नै विपत्को पीडामा रहेकाले कुनै उत्सवका कार्यक्रम नगरिएको समूहले जनाएको छ ।

समूहका अनुसार पञ्चकन्या ग्रुपबाट एक करोड ५५ लाख रुपियाँ राहत कोषमा उपलब्ध गराइएको हो भने पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्रीसमेत सरकारलाई उपलब्ध गराइनेछ । यसै गरी समूहमा कार्यरत कर्मचारीले स्वैच्छिक रूपमा १५ लाख रुपियाँ सङ्कलन गरी सहयोग गरेका छन् ।

समूहले विपत्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू संवेदनशील रहेको जनाउँदै राहत, पुनः स्थापना र पुनर्निर्माणका कार्यमा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यसैबिच, बाढीका कारण रगतको अभाव हुनसक्ने भन्दै समूहले उद्योग परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार मङ्गलबार आयोजित रक्तदान कार्यक्रममा उद्योगका कर्मचारी तथा अन्य इच्छुक व्यक्तिलाई सहभागी हुन आग्रह गरिएको थियो ।

पञ्चकन्या समूहको औद्योगिक यात्रा सन् १९७१ मा झापामा पञ्चकन्या राइस मिल स्थापनासँगै सुरु भएको हो । कृषि र व्यापारबाट सुरु भएको समूहले अहिले स्टिल, प्लास्टिक, रेडिमिक्स कङ्क्रिट, पानी ट्याङ्की, संरचनात्मक स्टिल, प्रोफाइललगायत निर्माण सामग्रीका क्षेत्रमा लगानी विस्तार गरेको छ ।

रूपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा रहेको पञ्चकन्या स्टिल समूहको प्रमुख औद्योगिक प्रतिष्ठानमध्ये एक हो । समूहका अनुसार पञ्चकन्या स्टिल नेपालमा टीएमटी स्टिल बार उत्पादन गर्ने पहिलो कम्पनी हो ।

पाँच दशकभन्दा लामो औद्योगिक यात्रामा विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको समूहले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ । यस पटकको ५५औँ वार्षिकोत्सवमा गरिएको राहत सहयोगलाई पनि समूहले यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?