Butwal Today

भोटेकोशी बाढीः ३२४ विदेशी नागरिकको उद्धार, ५९० सम्पर्कविहीन

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।

यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

यसैगरी विदेशस्थित नेपाली नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क तथा आवश्यकताअनुसार पहिचान, शव स्वदेश फिर्ता गर्ने प्रक्रियालगायतमा सहजीकरण गरिरहेका छन् । “हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ”, प्रवक्ता क्षेत्रीले भने ।

उनका अनुसार नेपाल सरकारले विशिष्ट क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगसहित सरकारका सम्बन्धित निकाय तथा सुरक्षा बलहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । “भारतबाट २४ जना जनशक्ति सम्मिलित दुईवटा तथा चीनबाट नौ जना जनशक्ति सम्मिलित विशेष सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजनाहरूमा परिचालित छन्”, उनले भने, “गणतन्त्र कोरियाको एउटा टोली पनि यहाँ आएको छ ।”

भारतीय सुरुङ उद्धार टोलीहरूले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासँग निकट समन्वयमा काम गरिरहेका छन् । चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । मृतकका शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरण नेपाललाई प्राप्त भइसकेको छ ।

प्रवक्ता क्षेत्रीले भने, “डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले २९ अगस्टदेखि सम्बन्धित नेपाली अधिकारीसँग सहकार्य गर्दै निरन्तर काम गरिरहेको छ । चीनबाट चार सदस्यीय फरेन्सिक टोली आज साँझ आइपुग्दैछ ।” सिङ्गापुरबाट ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्ने सम्बन्धमा पनि समन्वय भइरहेको उनले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार मन्त्रालयले ‘लाइडर’, ‘बेल्ली ब्रिज’, ‘फ्रिजर’, डिएनए परीक्षण किट, ‘लोड क्यारियर’, मानव अवशेष राख्ने झोला, उच्च क्षमताका ड्रोन, जीन सिक्वेन्सरलगायत अन्य सामग्री उपलब्ध गराउन अनुरोध गरेको छ । नेपाल सरकारले तत्काल नागरिकको जीवन बचाउने, सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने, जीवित व्यक्तिलाई सहयोग गर्ने तथा प्रभावित समुदायलाई राहत उपलब्ध गराउने कार्यमा दृढ रूपमा केन्द्रित रहेको जनाएको छ ।

यसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी जनशक्ति सम्मिलित एकीकृत बल हाल प्रभावित क्षेत्रभर खोजी, उद्धार, स्थानान्तरण तथा राहत कार्यमा परिचालित छन् । यसैगरी जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक विशिष्ट दक्षता, उपकरण तथा स्रोतसाधन पहिचान र परिचालन गर्न छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय समुदायसँग निकट समन्वयमा निरन्तर काम गरिरहेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?