Butwal Today

अधिकृत बन्ने सपना रसुवाको बाढीले लग्यो

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

सल्यान । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै सल्यानका २१ वर्षीय आयुष खड्काको बाढीमा परेर मृत्यु भएको छ ।

बागचौर नगरपालिका वडा नम्बर १० पिपलनेटाका खड्काको सोमबार चितवन र तनहुँको सङ्गमस्थल देवघाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ । रसुवाको टिमुरे क्वारेन्टाइन कार्यालयमा खरिदार पदमा पहिलो पोष्टिङ भएका आयुष भदौ १० गते आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका थिए ।

पाँच दिनपछि उनको शव फेला परेको थियो । शव अत्यधिक बिग्रिएको र सल्यानसम्म लैजान सम्भव नभएपछि देवघाटमै अन्त्येष्टि गरिएको काका रमेश खड्काले बताए ।

आयुष गत वैशाखमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गरेका थिए । अध्ययनमा अब्बल उनी परिवारका जेठा छोरा थिए । खरिदार पदमा नाम निस्किए पनि उनको लक्ष्य भने त्यसभन्दा माथि थियो । अधिकृतमा नाम निकाल्छु भन्ने आयुषको सोच रहेको काका रमेशले बताए ।

उनका अनुसार आयुषलाई अध्ययनमा निकै रुचि थियो । टिमुरेको पहिलो पोष्टिङमा पनि उनको खासै रुचि थिएन । तर परिवारले नाम निस्किसकेकाले जागिरसँगै अध्ययनलाई निरन्तरता दिन सुझाव दिएपछि उनी टिमुरे गएका थिए ।

आयुष स्नातक तहको परीक्षाको तयारीमा थिए । भदौ १६ गते हुने परीक्षाका लागि उनी दुई दिनपछि घर फर्कने तयारीमा थिए । योजना अनुसार भदौ १२ गते काठमाडौं आएर त्यसपछि सल्यान जाने उनको तयारी थियो । तर घर फर्कने तयारी गरिरहेका बेला भदौ १० गते आएको बाढीले उनको जीवन नै खोसिदियो । आयुष बाढीमा परेको खबर पाएपछि सल्यानमा रहेकी उनकी आमा मुना बेहोस भएकी थिइन् ।

सोमबार देवघाटमा छोराको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमुर्छित अवस्थामा थिए । आफन्त तथा शुभचिन्तकहरूले उनीहरूलाई सम्हाल्ने प्रयास गरिरहेका थिए ।

परिवारका जेठा छोरा आयुष बुवा आमा र बहिनीका लागि मुख्य सहारा थिए । छोटो समयमै सरकारी सेवामा प्रवेश गरेका र भविष्यमा अधिकृत बन्ने लक्ष्य लिएका उनको असामयिक निधनले पिपलनेटा सहित सिङ्गो गाउँ शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?