© 2026
गुल्मी । अविरल वर्षासँगै आएको पहिरोका कारण गुल्मीका दुई प्रमुख सडक काली गण्डकी कोरिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न स्थानमा आवतजावत प्रभावित भएको छ ।
काली गण्डकी कोरिडोरको गुल्मी सडक खण्डअन्तर्गत काली गण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी दरबार गाउँपालिका–३ घुम्तीमा पनि आज बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि दुवै स्थानमा सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको छ । काली गण्डकी कोरिडोरतर्फ प्रहरी चौकी पुर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा र मदन भण्डारी राजमार्गतर्फ प्रहरी चौकी चारपालाबाट प्रहरी सहायक निरीक्षक विष्णु खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।
दुवै स्थानमा सडक विभाग, सम्बन्धित स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो खसेपछि जिल्लाका मुख्य सडक मार्गमा यातायात सञ्चालन प्रभावित भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।