© 2026
गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मीचौरमा चितुवाको आक्रमणबाट एकै घरका पाँच वटा बाख्रा मरेका छन् ।
स्थानीय सुमित्रा सुनारको घर नजिकै रहेको गोठमा बाँधेर राखिएका बाख्रालाई चितुवाले शनिबार बिहान आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट सुनारको दुई वटा माउ बाख्रा, दुई वटा खसी र एक वटा पाठो गरी पाँच वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विरेन्द्रवीर बिश्वकर्माले जानकारी दिएका छन् ।
चितुवाले गोठमै पसेर एकै पटक पाँच वटा बाख्रा मारेपछि स्थानीयवासी त्रसित बनेको स्थानीय पशु प्राविधिक किरण पुनले बताए । पछिल्लो समयमा जिल्ला भित्र चितुवाको आक्रमण बढ्दै गएको भन्दै डिभिजन वन कार्यालय गुल्मीले स्थानीयहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ ।
डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत मदन सापकोटाका अनुसार गत दुई वर्षको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट ९५ वटा बाख्रा मरिसकेका छन् । पछिल्लो समय जिल्लाका अन्यत्र स्थानमा पनि चितुवाको आवजजावत बढ्दै गएको उनले जानकारी दिएका छन् । चितुवाले विशेषगरी साँझ तथा रातिको समयमा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको कार्यालयले जनाएको छ ।