Butwal Today

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज सेवा सुचारु गरेको छ । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट पुनः सञ्चालनमा आएका छन् ।

आज सञ्चालनमा आएका साइटमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ साइट रहेका नेपाल टेलिकमले जनाएको छ ।

त्यसैगरी नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइट पनि पुनः सञ्चालनमा आएका छन् । रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए ।

अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ, आमाछोङदिमो–५ लगायतका स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । त्यस्तै छापथोके साइटबाट मोबाइल सेवा प्राप्त हुने स्थानमा बेत्रावती, काउली, त्रिशूली थ्री ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ रहेका उनले बताए ।

जिपजिपे साइटबाट सेवा प्राप्त हुने स्थानमा कालिका गाउँपालिकाका वडा नम्बर २ र ५, धारापानी र देउरालीडाँडा रहेका छन् । त्यसैगरी गत्लाङ बीटीएस साइटमार्फत गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिममा सेवा उपलब्ध भएको छ ।

चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ ।

विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमका प्राविधिक निरन्तर खटिरहेको र कम्पनी सदाझैँ सेवा सुनिश्चितताका लागि प्रतिबद्ध रहेको नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?