© 2026
नेपालगन्ज । नेपालगन्ज र आसपासका यात्रुका लागि लामो प्रतीक्षापछि खुसीको खबर आएको छ ।
भारतको रुपैडिहाबाट उत्तर प्रदेशको बनारससम्म सिधा रेल सेवा सञ्चालन हुने भएको छ । आगामी ३१ अगस्ट २०२६ अर्थात् भदौ १५ गते सोमबारदेखि रुपैडिहाबाट बनारससम्म रेल सेवा सञ्चालन हुने जनाइएको छ ।
रुपैडिहा नेपालगन्ज नाकासँग जोडिएको प्रमुख भारतीय सीमावर्ती बजार हो । नेपालगन्जबाट रुपैडिहा हुँदै भारतका विभिन्न सहरमा आवतजावत गर्ने नेपाली यात्रुका लागि रेल सेवा सञ्चालन भएपछि लामो दूरीको यात्रा थप सहज हुने अपेक्षा गरिएको छ ।
प्राप्त विवरणअनुसार रुपैडिहाबाट बनारसका लागि दैनिक दुईवटा रेल छुट्नेछन् । बिहान ४ बजे र बेलुका ४ः१५ बजे रुपैडिहाबाट रेल प्रस्थान गर्ने समय तोकिएको छ । त्यसैगरी गोन्डातर्फ जाने यात्रुका लागि बिहान ८ः२० बजे र दिउँसो ३ः३० बजे रेल छुट्ने बताइएको छ ।
यसबाट बनारस, गोरखपुर, गोन्डा, बहराइचलगायतका क्षेत्रमा जाने यात्रुलाई प्रत्यक्ष लाभ पुग्नेछ । विशेषगरी नेपालगन्ज, बाँके तथा आसपासका जिल्लाबाट भारतका विभिन्न सहरमा उपचार, रोजगारी, व्यापार, अध्ययन तथा आफन्त भेटघाटका लागि जाने यात्रुका लागि रेल सेवा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
नेपालगन्जबाट सीमावर्ती भारतीय बजार रुपैडिहासम्म सडकमार्ग हुँदै पुगेर त्यहाँबाट रेल चढ्न सकिने भएकाले यात्रुले लामो दूरीको बस यात्रा गर्नुपर्ने बाध्यता केही हदसम्म कम हुने देखिएको छ । रेल सेवा नियमित रूपमा सञ्चालन भएमा नेपालगन्ज–रुपैडिहा नाकाबाट भारततर्फ जाने यात्रुको आवागमनसमेत बढ्न सक्ने व्यवसायी पवन शर्माले बताए ।
बनारस धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण सहर हो । त्यस्तै, गोरखपुर, गोन्डा र बहराइच पनि नेपाल–भारत सीमावर्ती क्षेत्रसँग जोडिएका महत्वपूर्ण सहर हुन् । यी क्षेत्रमा नेपालबाट दैनिक ठूलो संख्यामा यात्रु आवतजावत गर्ने गरेका छन् ।
विशेषगरी वृद्धवृद्धा, बिरामी, विद्यार्थी तथा लामो दूरीको यात्रा गर्नुपर्ने यात्रुका लागि रेल सेवा तुलनात्मक रूपमा सहज र किफायती यातायातको माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ । रुपैडिहाबाट सिधै बनारससम्म रेल सञ्चालन भएपछि बीचमा सवारीसाधन परिवर्तन गर्नुपर्ने झन्झटसमेत कम हुने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बताए ।
उनले भने, “तीर्थयात्राका लागि मात्र नभई भारतबाट सामान ल्याउन जाने व्यवसायीका लागि समेत रेल सेवा सहज हुनेछ ।” लामो समयदेखि रुपैडिहा हुँदै भारतका प्रमुख सहरसम्म सहज रेल सेवा विस्तारको माग हुँदै आएको थियो । नयाँ रेल सेवा सञ्चालनको खबरसँगै नेपालगन्ज तथा आसपासका यात्रुमा उत्साह बढेको नेपालगन्जका स्थानीय देवीप्रसाद तिवारीले बताए ।
रेल सेवा सञ्चालनको समय, भाडादर, टिकट बुकिङको व्यवस्था, रेलको नाम तथा कुन–कुन स्टेसनमा रोकिने भन्ने विस्तृत विवरण यात्रुले सम्बन्धित भारतीय रेल सेवा तथा आधिकारिक टिकट प्रणालीबाट यकिन गर्नुपर्नेछ ।
भदौ १५ गतेदेखि रेल सेवा सञ्चालनमा आएपछि नेपालगन्ज–रुपैडिहा नाका हुँदै भारतका विभिन्न सहरमा जाने यात्रुका लागि थप विकल्प उपलब्ध हुनेछ । लामो समयदेखि प्रतीक्षा गरिरहेका यात्रुका लागि रुपैडिहाबाट बनारससम्मको सिधा रेल सेवा महत्वपूर्ण यातायात सुविधा बन्ने अपेक्षा गरिएको छ ।