© 2026
दोहा, कतार ।
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण प्रभावित नुवाकोटमा बस्दै आएका धनकुटा मारेक कटहरेका धनबहादुर गुरुङलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारले हवाई टिकट उपलब्ध गराएर नेपाल पठाएको छ ।
बाढीका कारण घर बगाएको र उनकी आमा अझै बेपत्ता रहेको खबर पाएपछि तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहेका गुरुङका लागि एनआरएनए एनसीसी कतारले हवाई टिकटको व्यवस्था गरेको हो । उनकी श्रीमती र छोरी भने सकुशल रहेको बताइएको छ ।
विपद्मा परेका नेपालीलाई सहयोग गर्ने अभियानअन्तर्गत गुरुङलाई नेपाल फर्काउन सहयोग गरिएको एनआरएनए एनसीसी कतारका उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बाढी तथा पहिरोका कारण परिवारका सदस्य गुमाएका, विपद्मा परेका वा तत्काल नेपाल फर्कनुपर्ने भए पनि आर्थिक तथा अन्य कारणले कतारबाट फर्कन असहज अवस्थामा रहेका नेपालीलाई आवश्यक सहयोग गर्न एनआरएनए एनसीसी कतारले हवाई टिकट उपलब्ध गराउनुका साथै थप सहयोगका लागि २४ घण्टे हटलाइन सेवा सञ्चालन गरेको छ ।
‘विपद्मा परेका नेपालीले आफूलाई एक्लो नसम्झनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस्,’ पौडेलले आग्रह गरे । उनले हटलाइन सेवा २४ सै घण्टा खुला रहने र उक्त नम्बरमा फोन गर्नुका साथै ह्वाट्सएपमार्फत म्यासेज गरेर पनि सहयोगका लागि सम्पर्क गर्न सकिने बताए ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका नेपाली नागरिक तथा उनीहरूका परिवारका सदस्य कतारमा कार्यरत भए उनीहरूलाई राहत तथा सहयोगको मुख्य प्राथमिकतामा राखिने बताएका छन् ।
पन्थीले कतारमा सक्रिय विभिन्न सामाजिक संघसंस्था तथा नेपाली समुदायका दाजुभाइ, दिदीबहिनीहरूलाई संकटको घडीमा आ–आफ्नो ठाउँबाट सहयोगको हात बढाउन अपिल गरेका छन् ।
‘देश विपद्मा परेको बेला हामी जहाँ भए पनि आफ्नो देश र आफ्ना नागरिकको साथमा उभिनुपर्छ,’ अध्यक्ष पन्थीले भने ।
कतारमा रहेका विपद्मा परेका नेपालीको पहिचान, राहत तथा उद्धार, नेपाल फर्कने व्यवस्थामा सहजीकरण तथा अन्य समस्यामा परेका श्रमिकलाई सहयोग गर्न एनआरएनए एनसीसी कतारको २४ घण्टे हटलाइन ९७४–७०००१३५३ मा सम्पर्क गर्न सकिनेछ ।