Butwal Today

बाढीपीडितलाई तिलोत्तमा व्यापार सङ्घको ५१ हजार सहयोग

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

तिलोत्तमा ।

हालै रसुवा लगायत देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित भएकाहरूलाई तिलोत्तमा व्यापार सङ्घले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सङ्घले बाढी पहिरो पीडितको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको हो ।

विज्ञप्ति जारी गर्दै तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले प्राकृतिक विपद्का कारण भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । विपत्मा परी ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सङ्घले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बाढी पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र विस्थापित नागरिकहरूको सुरक्षित पुनः स्थापनाको कामना समेत गरिएको छ ।

विपत्को यस घडीमा सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने भन्दै सङ्घले सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा सम्पूर्ण सङ्घ–संस्थाहरूलाई आफ्नो क्षमता र हैसियत अनुसार उद्धार र राहतमा सहयोग गर्न हार्दिक अपिल गरेको छ ।

दुःख र विपत्को समयमा पीडित नागरिकहरूसँग हातेमालो गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै सङ्घले आगामी दिनमा पनि मानवीय सेवाका कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?