© 2026
बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु भएका १८ जनाको शव बुटवल ल्याइएको छ ।
शुक्रबार राति थप सात जनाको शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएसँगै अस्पतालमा बाढीमा परी मृत्यु भएका १८ जनाको शव राखिएको छ ।
प्रहरीका अनुसार बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न बुटवल ल्याइएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले शुक्रबार दिउँसो ११ वटा र राति सातवटा शव अस्पतालमा ल्याइएको जानकारी दिए । उनका अनुसार थप सात वटा शवसमेत ल्याइएपछि अस्पतालमा रहेका शवको सङ्ख्या १८ पुगेको हो ।
अस्पतालमा राखिएका शवमध्ये १३ जना पुरुष र पाँच जना महिला छन् । शवको पहिचान तथा आफन्तको खोजीका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि नदीमा बगेका शवहरू विभिन्न स्थानमा फेला पर्ने क्रम जारी छ ।
बाढीले बगाएर ल्याएका शव पश्चिम नवलपरासीका नदी तथा आसपासका क्षेत्रमा फेला परेपछि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा तिनलाई बुटवल ल्याउने गरिएको हो ।
यसैबिच भैरहवास्थित भीम अस्पतालमा पनि तीन जना महिलाको शव राखिएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ती शव पनि बाढीका कारण विभिन्न स्थानमा फेला परेका हुन् ।
बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको यकिन विवरण सङ्कलन गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ । फेला परेका शवको पहिचान खुलेपछि सम्बन्धित परिवारलाई जानकारी गराई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शव जिम्मा लगाउने तयारी गरिएको छ ।
भोटेकोशी बाढीपछि नदीले बगाएर ल्याएका शव विभिन्न जिल्लाका नदी किनार तथा आसपासका क्षेत्रमा भेटिन थालेकाले थप शवसमेत बुटवल ल्याउनुपर्ने अवस्था आउन सक्ने प्रहरीले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा थप शव ल्याइन सक्ने सम्भावना रहेकाले त्यसका लागि आवश्यक व्यवस्थापनसमेत गरिएको बताइएको छ ।
बाढीमा परी आफ्ना परिवारका सदस्य बेपत्ता भएपछि विभिन्न जिल्लाका आफन्तहरू सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । पहिचान हुन बाँकी शवको विवरण सङ्कलन गरी आफन्तसँग मिलान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।