Butwal Today

मेहनतले चिनिएका ऋषिराज गुप्ताः दुधको तरबाट उद्यमसम्म

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

बुटवल । कक्षा १२ उत्तीर्ण गरेपछि नवलपरासीका २६ वर्षीय ऋषिराज गुप्तासामु पनि विदेश जाने विकल्प थियो । उनका वरिपरिका अधिकांश युवाको जस्तै उनको परिवार र आफन्तबाट पनि विदेश जान सुझाव आउन थालेको थियो । तर, उनले विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्ने निर्णय गरे ।

“विदेश गएर केही वर्ष पैसा कमाएपछि फेरि फर्किनुपर्छ । त्यसपछि के गर्ने भन्ने प्रश्नले मलाई आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचतिर लग्यो,” गुप्ता भन्छन् । त्यही सोचले जन्माएको व्यवसाय हो–‘चिया भाना’ । २५ हजार रुपियाँ लगानीबाट सुरु भएको यो व्यवसाय अहिले नवलपरासी र बुटवलमा गरी दुई शाखामा सञ्चालन भइरहेको छ ।

नवलपरासीको पालिनन्दन गाउँपालिका–२, हरपुरमा जन्मिएका गुप्ताले सन् २०२१ मा कक्षा १२ उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले सामान्य लगानीमा सुरु गर्न सकिने व्यवसायबारे सोच्न थाले । उनलाई दुधको तर पाउरोटीमा राखेर खान मन पथ्र्यो । त्यही स्वादबाट व्यवसायको अवधारणा विकास भयो ।

तर बेचेर बाँकी रहने दुधको उपयोग कसरी गर्ने भन्ने सोच्दा उहाँले कुरौँनी बनाउन सकिने र त्यससँगै चिया बेच्न सकिने सम्भावना देखे । त्यसपछि रामग्राम नगरपालिका–३, मालपोत रोडस्थित नबिल बैङ्क नजिकै सटर भाडामा लिएर ‘चिया भाना’ सुरु गरे ।

सुरुवातमा ग्यास चुलो, भाँडाकुँडा, पेन्ट, दूध, चिनी र चियापत्तीलगायतका सामग्रीमा २५ हजार रुपियाँ खर्च भएको थियो । मासिक एक हजार रुपियाँ भाडा तिरेर सुरु गरिएको पसलमा चिया र बन कुरौँनी मुख्य परिकार थिए ।

बन कुरौँनी नयाँ परिकार भएकाले सुरुमा ग्राहकलाई आकर्षित गर्न सहज थिएन । पसल सञ्चालनको सुरुवाती समयमा भाडा तिर्नसमेत कठिन हुने अवस्था आएको गुप्ता बताउँछन् । तर, विस्तारै चिया र बन कुरौँनीको स्वाद ग्राहकको रोजाइमा पर्न थाल्यो । विद्यार्थी, व्यापारीदेखि वृद्धवृद्धासम्मका ग्राहक बढ्दै गए ।

व्यवसाय सञ्चालनसँगै गुप्ताले पढाइलाई पनि निरन्तरता दिए । काम र अध्ययनलाई सँगसँगै अघि बढाउँदै उनले व्यवस्थापन विषयमा स्नातक (बीबीएस) पूरा गरे । अध्ययनले व्यवसाय सञ्चालनका विषयमा बुझ्न सहयोग गरेको उनको भनाइ छ ।

नवलपरासीको व्यवसाय विस्तार हुँदै गएपछि गुप्ताले करिब डेढ वर्षअघि बुटवलमा पनि ‘चिया भाना’ को शाखा सुरु गरे । बुटवलको भाटभटेनी नजिकको चोकमा सुरु गरिएको शाखासँगै व्यवसाय दुई स्थानमा पुगेको हो । नवलपरासीको पसलको जिम्मेवारी उनले दाजु विजयकुमार गुप्तालाई दिएका छन् ।

सुरुवातमा चिया र बन कुरौँनीमा केन्द्रित व्यवसायमा अहिले ग्राहकको मागअनुसार अन्य परिकारसमेत थपिएका छन् । यहाँ स्पेसल मट्का चिया, मिल्क कफी, कुरौँनी लस्सी, चिकेन मःम, चाउचाउ, पकौडा र चटपटेलगायतका परिकार पाइन्छन् । दैनिक १५ देखि २० लिटरसम्म दूध खपत हुने गुप्ता बताउँछन् ।

बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत कविता अर्यालले बन कुरौँनी पहिलोपटक ‘चिया भाना’मै खाएको बताइन् । साथीहरूसँग चिया र बन कुरौँनी खान जाने गरेको उनको भनाइ छ ।

चाँदबारीमा बस्दै आएकी नमुना पराजुलीलाई पनि बन कुरौँनी मन पर्छ । “अलि फरक परिकार खान मन लाग्दा त्यहाँ गएर बन कुरौँनीसँगै चिया पिउन सकिन्छ,” उनले भनिन् ।

गुप्ताका अनुसार दुवै शाखाबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ । व्यवसायमा अहिले नवलपरासीमा सात र बुटवलमा एक गरी आठ जनाले रोजगारी पाएका छन् । २५ हजार रुपियाँबाट सुरु भएको व्यवसाय विस्तार हुँदै गएपछि गुप्ताको योजना पनि फराकिलो बनेको छ ।

उनी अब हरियाली र शान्त वातावरण भएको स्थानमा ‘चिया भाना’ विस्तार गर्ने तयारीमा छन् । युवापुस्तालाई लक्षित गर्दै फोटो, भिडियो तथा टिकटक बनाउन मिल्ने आकर्षक वातावरण तयार गर्ने उनको योजना छ । “जग्गा हेर्दै छु । अबको ‘चिया भाना’ चिया खान आउने ठाउँ मात्र होइन, केही समय बिताउन सकिने वातावरण भएको ठाउँ बनाउने योजना छ,” उनले भने ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल सानो लगानीबाट व्यवसाय सुरु गरेर त्यसलाई विस्तार गर्न सफल भएका युवा उद्यमीको संघर्ष र मेहनत अरूका लागि पनि प्रेरणादायी बन्न सक्ने बताउँछन् । रोजगारीका लागि विदेश जाने सोच बनाइरहेका युवाले स्वदेशमै सम्भावना खोज्ने वातावरण बनाउन यस्ता उदाहरण महत्वपूर्ण हुने उनको भनाइ छ ।

“सानो लगानीबाट सुरु गरेर निरन्तर मेहनत गर्दै व्यवसाय विस्तार गर्नु आफैँमा प्रेरणादायी कुरा हो । यस्ता व्यवसायीले देखाएको बाटोबाट अरू युवाले पनि सिक्न सक्छन्,” अर्यालले भने ।

स्थानीयस्तरमै व्यवसाय सञ्चालन गर्ने युवालाई व्यवसायको सुरुवाती चरणमा विभिन्न चुनौती हुने भन्दै उनले राज्य, निजी क्षेत्र र उपभोक्ता सबैले यस्ता उद्यमीलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताए । स्थानीय उत्पादन, सेवा र व्यवसायलाई प्राथमिकता दिँदा त्यसको प्रत्यक्ष लाभ स्थानीय अर्थतन्त्र र रोजगारीमा पर्ने उनको भनाइ छ ।

विदेश जाने युवाको बढ्दो प्रवृत्तिप्रति भने गुप्ता चिन्तित छन् । युवाले आफ्नै देशमा काम र व्यवसायको अवसर पाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनको आफ्नै अनुभवमा भने रोजगारी खोज्न विदेश जानुभन्दा सानो लगानीबाट भए पनि स्वदेशमै व्यवसाय सुरु गर्ने सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?