© 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका–५, धर्ना धारापानीस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पाण्डवेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन भएको शिवपुराण तथा शृङ्गारिक महाआरती सत्संगको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
आयोजक समितिका अनुसार उक्त धार्मिक अनुष्ठानबाट कुल ३३ लाख ८७ हजार ५५ रुपैयाँ आम्दानी भएको थियो । सम्पूर्ण खर्च कटाएर १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ बचत भएको समितिले जनाएको छ ।
आर्थिक समितिका संयोजक विमल अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार भक्तजनबाट प्राप्त महाआरती सङ्कल्प रकमबाट ४ लाख ९९ हजार ४ सय ६१ रुपैयाँ, ब्राह्मण भोजन तथा प्रसाद वितरणबाट २ लाख २६ हजार ४ सय ६१ रुपैयाँ र अन्य सहयोगबाट १५ लाख ७६ हजार १ सय ३२ रुपैयाँ सङ्कलन भएको थियो ।
त्यस्तै, दानपेटिकाबाट ९ लाख ४८ हजार ४० रुपैयाँ, झोलीदानबाट ९८ हजार ३६ रुपैयाँ तथा महाआरतीका क्रममा सङ्कलित चामल बिक्रीबाट ३८ हजार ९ सय २५ रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
एक महिनासम्म सञ्चालन भएको कार्यक्रममा बाद्यवादन कलाकारका लागि २ लाख ५० हजार रुपैयाँ, साउन्ड सिस्टम तथा कर्मचारी दक्षिणामा २ लाख ४१ हजार ७ सय २५ रुपैयाँ, महाआरतीका गुरुहरूलाई २ लाख ५ हजार रुपैयाँ तथा फोटो फ्रेम, पर्चा, निमन्त्रणा पत्र र प्रमाणपत्र व्यवस्थापनमा १ लाख ४३ हजार ८ सय ९० रुपैयाँ खर्च भएको छ ।
त्यसै गरी, टेन्ट, कुर्सी तथा स्टेज व्यवस्थापनमा १ लाख ४ हजार ७ सय ५३ रुपैयाँ, कर्मचारी तथा सहयोगीको दक्षिणामा १ लाख १ हजार १ सय रुपैयाँ, मुख्य वाचक गुरुलाई ९५ हजार रुपैयाँ तथा पूजा सामग्रीमा ७४ हजार ७ सय ४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
सत्संग अवधिभर भक्तजनलाई भोजन तथा प्रसाद वितरणका लागि १ लाख ७ हजार ८ सय ४५ रुपैयाँ खर्च भएको थियो । उक्त रकममध्ये प्रतिभाटोल विकास संस्था (गुरुगैरी ले ५७ हजार रुपैयाँ सहयोग गरेको र बाँकी ५० हजार ८ सय ४५ रुपैयाँ समितिले व्यहोरेको जनाएको छ ।
यसका अतिरिक्त जेनेरेटर इन्धनमा ४३ हजार ६ सय ९९ रुपैयाँ, स्थानीय मिडिया ‘रुटिन अफ घोराही’लाई ३२ हजार रुपैयाँ, रुद्राक्ष मालामा ३२ हजार रुपैयाँ तथा आरती सञ्चालनमा १५ लाख २२ हजार ८१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, उद्घोषकलाई ३० हजार रुपैयाँ तथा प्रचारप्रसार र यातायात व्यवस्थापनमा १८ हजार ४ सय ७६ रुपैयाँ खर्च भएको जनाइएको छ । सम्पूर्ण खर्च कटाएर १७ लाख ६४ हजार ९ सय ७४ रुपैयाँ बचत भएको आयोजक समितिले जनाएको छ ।
धार्मिक अनुष्ठानमा भक्तजन, शुभेच्छुक तथा विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगका कारण उल्लेखनीय रकम सङ्कलन भएको समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए ।
उनले मासिक महाआरती सञ्चालनका लागि रातदिन खटिएका कर्मचारी, समितिका पदाधिकारी, विभिन्न समिति तथा उपसमितिका पदाधिकारी, सुरक्षाकर्मी र शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।