© 2026
चन्द्रौटा । बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पु¥याइरहेका बेला त्यसको पीडा प्रभावित परिवारमा मात्र सीमित छैन ।
विपद्को खबरले टाढाका नागरिक लाईसमेत स्तब्ध बनाएको छ । यही पीडाको घडीमा कपिलवस्तु उद्योग वाणिज्य सङ्घले सहयोग र सहकार्यको हात अघि बढाएको छ ।
सङ्घले बाढी–पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरेको छ । घाइतेको उपचार तथा सम्पर्कविहीन नागरिकको खोजी र उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने सङ्घका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए । पछिल्लो विवरणअनुसार विपद्मा परी सयौँले ज्यान गुमाएका छन् भने हजारौँ नागरिक सम्पर्कविहीन छन् ।
सयौँ नागरिक घाइते भएका छन् । विपद्ले घरपरिवारसँगै सडक, पुल, व्यापारिक प्रतिष्ठान र सवारीसाधनमा समेत क्षति पु¥याएको छ ।
व्यवसाय र व्यापारसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले रसुवागढी भन्सार क्षेत्र तथा सीमा व्यापारमा परेको असरप्रति पनि सङ्घले चासो देखाएको छ । विपद्का कारण व्यापारिक गतिविधिमा समेत असर परेको अवस्थामा प्रभावित क्षेत्रको पुनः स्थापना र राहतमा सामूहिक पहल आवश्यक रहेको सङ्घका अध्यक्ष क्षेत्री जनाए ।
विपद्को समयमा सरकारी निकाय मात्रको प्रयास पर्याप्त नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए । सुरक्षा निकाय, स्थानीय तह, सङ्घसंस्था, व्यवसायी र आम नागरिक एकजुट भएर उद्धार तथा राहतमा लाग्नुपर्ने सङ्घले आग्रह गरेको छ ।
